नवराज चौलागाईं,
निजगढ । निजगढ नगरपालिकाले चालु आर्थिक वर्ष २०७७।७८ को लागि आह्वान गरेको नदिजन्य पदार्थको बोलपत्र सकार भएपछि नगरप्रमुख सुरेश कुमार खनालले अढाई करोड राजस्व वृद्धि भएको बताउनु भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षकोलागि लालबकैया र धन्सार खोलाबाट ढुंगा,गिट्टी,बालुवा,रोडा नदीजन्य पदार्थ उत्त्खनन् तथा निकासीका ठेक्का सकार हुनु वाद बिवाद हुनु सामान्य भएपनि यस निर्णयले नगरको आम्दानी बढाउन सहयोग गर्ने सबैलाई ध्न्यवाद दिनु भएको छ । यसले नगरको विकासमा खुलेर काम गर्ने वातावरण बनेको मेयर खनालले बताउनु भयो । ठेक्का विवाद लामो समय चली पक्ष बिपक्ष भई अन्योलको अबस्था हुदा नगरको आम्दानी डुब्ने होकी भन्ने चिन्ता थियो त्यो अब टरेर गयो खनालले बताउनु भयो ।
मूल्य अभिवृद्धि कर वाहेक १३ करोड ३२ हजार ९१ रुपैंयामा बोलपत्र आह्वान गरेको सो ठेक्का हिमानी सप्लायर्सले १६ करोड रुपैंयामा सकार गरेकोहो । नगरपालिकाले आह्वान गरेको बोलपत्रमा बिभिन्न चारवटा बोलपत्र पेश भएकोथियो । जसमध्ये ओम हार्डवेयरले १५ करोड १० लाख,सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनि जेभीले १५ करोड ५ लाख र सुदिपा ट्रेडिङ कम्पनि प्रालिले १४ करोड ५ सय ९९ रुपैंयाको बोलपत्र पेश गरेकाथिए ।
१३ वटा ठेकेदार कम्पनीले बोलपत्र खरिद गरेको भएपनि ४ वटा बोलपत्र मात्रै नगरपालिकामा पेश भएकोथियो । यस अघि निजगढ नगरपालिकाले गत आश्विन १५ गते जारी गरेको बोलपत्र आह्वानमा ठेकेदार कम्पनीहरुले नियम नपुर्याई बोलपत्र पेश गरेपछि निजगढका मेयर सुरेश कुमार खनालले उक्त बोलपत्र रद्ध गर्न टिप्पणी आदेश दिनु भएको थियो । नगरपालिकाले जारी गरेको राजपत्रको दफा १५ को उपदफा १५।३ अनुसार मेयर खनालले बोलपत्र रद्ध गर्न टिप्पणी आदेश दिनुभएको थियो । नगरपालिकाले पहिलो पटक आह्वान गरेको बोलपत्रमा हिमानी सप्लायर्सले नै सबैभन्दा बढी १३ करोड ५१ लाखमा बोलपत्र पेश गरेकोथियो ।
तर हिमानीले तेतिबेला समयमै धरौटी रकम बुझाउन सकेकोथिएन । तेतिबेला अन्य ठेकेदार कम्पनीले पनि रितपूर्वक बोलपत्र पेश नगर्दा मेयर खनालले कानुन बमोजिम उक्त बोलपत्र रद्ध गर्नुभएको थियो । पछी मंशिर १५ गते नगरपालिकाले पुनः बोलपत्र आह्वान गरेको थियो । मेयर खनालले उक्त बोलपत्र रद्ध गर्नु भएसंगै अढाई करोड बढीमा नगरपालिकाको ठेक्का सकार भएको हो ।