यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्।
नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्।
आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।
देश अनुसार कदमहरू केही फरक छन्। फ्रान्सेली कदमबाट युरोटनेलमार्फत् हुने रेल सेवा पनि प्रभावित भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ।
पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।
यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात् उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ।
कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन।
तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण-पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन्। यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो।
द नेदरल्यान्ड्समा “भाइरसको नयाँ प्रकार फैलिने जोखिम न्यूनीकरणका लागि सम्भव भएसम्मका प्रयास गर्नुपर्ने”मा डच सरकारले जोड दिएको छ।
यूकेबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिमलाई थप सीमित पार्ने दिशामा युरोपेली सङ्घका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ।
नयाँ रणनीतिहरू तय गर्न सोमवार युरोपेली सङ्घका राजदूतहरूले आपत्कालीन बैठक गर्दैछन्।
बीबीसीसँग कुरा गर्दै विश्व स्वास्थ्य सङ्गठनकी इपिडिमियोलोजिस्ट मारिया भान केर्कोभले “महामारीको शुरूवातदेखि नै डब्ल्यूएचओका विशेषज्ञहरूले विश्वभरि भाइरसको आनुवंशिक परिवर्तनलाई नियाल्दै आएको” बताइन्। नयाँ प्रकारबारे हामीलाई के थाहा छ?
डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ।
भाइरसको उत्परिवर्तनसम्बन्धी जारी अध्ययनबारे यूकेलाई जानकारीहरू दिइरहेको र नयाँ भाइरसका विशेषताहरूबारे थप थाहा पाउनासाथ जानकारी गराउने डब्ल्यूएचओले भनेको छ।
यद्यपि “उल्लेख्य अनिश्चितता छ”, यूकेका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन्।
इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले विकासक्रमले “स्थिति झन् खराब बनाउने” बताएका छन्।
यद्यपि कोरोनाभाइरसविरुद्ध खोप दिन थालिएकोले उनले आशावादी कुरा गरे।
कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?
“के यो परिवर्तनले भाइरसको व्यवहार बदलिएको छ?” यो प्रश्न सोध्ने।
भाइरसको आनुवंशिक परिवर्तन वा म्यूटेशन सुन्दा डरलाग्दो लाग्छ। तर भाइरसको सामान्य प्रवृत्ति नै यसरी म्यूटेशन (उत्परिवर्तन) भएर फेरिइरहनु हो।
अधिकांश यस्ता परिवर्तन अर्थहीन हुने गर्छन् वा भाइरसले आफूलाई बदल्दा त्यो सङ्क्रामक हुन छाड्छ र आफैँ हराएर जान्छ। कहिलेकाहीँ भने उसको परिवर्तनले उसलाई थप सङ्क्रामक वा घातक बनाउन सक्छ।
इङ्ग्ल्यान्डमा देखा परेको प्रकार कस्तो हो?
हालै इङ्ग्ल्यान्डको दक्षिणपूर्वी भागमा देखा परेको कोरोनाभाइरसको नयाँ स्ट्रेन अर्थात् प्रकार पुरानोभन्दा धेरै सङ्क्रामक भएको वा थप घातक भएको वा खोपप्रतिरोधी भएको कुनै स्पष्ट प्रमाण फेला परेको छैन।
तर दुईवटा कारणले वैज्ञानिकहरूले यसमाथि ध्यान केन्द्रित गरिरहेका छन्।पहिलो त यो नयाँ स्वरूपको भाइरस धेरै सङ्क्रमण भइरहेका स्थानमा फेला परेका छन्।
यो चेतावनीको एउटा सूचक हो जबकि यसलाई दुवै किसिमले अर्थ्याउन सकिन्छ।
भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्छ।
तर कहिलेकाहीँ सही मानिसमा सङ्क्रमण फैलाएर पनि भाइरस धेरै फैलिएको देखिन सक्छ। उदाहरणका लागि गर्मी याममा यूकेमा ‘स्पेनी स्ट्रेन’को कोरोनाभाइरस फैलियो। धेरै मानिसहरूले स्पेनमा घुमफिर गरेर फर्किँदा त्यो बोकेर आएकाले त्यसो भएको थियो।
प्रयोगशालामा सूक्ष्म अध्ययन गरेपछि मात्रै यो अहिलेको नयाँ स्ट्रेन थप सङ्क्रामक हो कि होइन भन्ने थाहा हुन्छ। कोरोनाभाइरसका दुई उल्लेखनीय म्युटेशन
अनि यो भाइरसको म्यूटेशन कसरी भइरहेको छ भन्ने दोस्रो विषयले पनि वैज्ञानिकहरूको ध्यानाकृष्ट भएको छ।
“यसमा एकदमै धेरै म्यूटेशन भइरहेका छन्। हामीले अपेक्षा गरेकोभन्दा धेरै। अनि केही परिवर्तन रोचक देखिन्छन्,” कोभिड-१९ जिनोमिक्स यूके (सीओजी-यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यानले बताए।
दुईवटा उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् – तिनका नाम भने अलि जटिल छन्।
दुवै परिवर्तन कोरोनाभाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटीनमा भएका देखिन्छन्। यिनै स्पाईकको सहयोगले यो भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग लगाइदिन्छन्।पहिलो म्यूटेशन N501 भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ।
यही भागमार्फत् स्पाईकले हाम्रो शरीरको कोषमा पहिलो स्पर्श गर्छ। कोषभित्र छिर्न थप सजिलो बनाउने कुनै पनि यस्ता परिवर्तनले भाइरसलाई मद्दत पुग्छ।
“यो परिवर्तन महत्त्वपूर्ण अनुकूलन जस्तो लाग्छ,” प्राध्यापक लोम्यानले भने।अर्को म्यूटेशनको नाम “H69/V70 डिलिशन” छ जुन यसअघि धेरै पटक देखा परेको थियो। यही म्यूटेशन भएको भाइरस मिङ्क जनावरमा पनि देखिएको थियो।
यो म्यूटेशन भएको भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूमा कोभिडबाट निको भएका बिरामीको एन्टिबडी प्रयोग गर्दा प्रभावकारी नभएको चिन्ता व्यक्त भएका थिए। तर यसको पनि स्पष्ट पुष्टि गर्न थप प्रयोगशाला अध्ययन आवश्यक हुन्छ।
बर्मिङ्अम विश्वविद्यालयका प्राध्यापक एलन मक्नाली भन्छन्, “हामीलाई थाहा छ नयाँ स्वरूपका भाइरस देखा परेका छन्। तर त्यसको जैविक अर्थ के हो भनेर हामीलाई थाहा छैन।”
“यो परिवर्तन कति महत्त्वपूर्ण हो भन्ने निष्कर्षमा पुग्न अहिले हतारो हुन्छ।”
खोपमा के असर?
भाइरसको स्पाईक प्रोटीनमा भएका म्युटेशनहरूले कोभिडविरुद्धका तीन अग्रणी खोपबारे पनि प्रश्न उठेका छन्। फाइजर, मोडर्ना र अक्सफर्ड तीनै वटाको खोपले भाइरसको यही स्पाईक प्रोटीनमा आक्रमण गर्छन्।
तर मानिसको शरीरले स्पाईकको विभिन्न भागमा प्रतिरोध गर्न सिक्छ। त्यसैले यी खोपले नयाँ स्वरूपका भाइरसविरुद्ध पनि काम गर्नेमा स्वास्थ्य अधिकारीहरू ढुक्क छन्।
यो भाइरस जनावरहरूमा विकसित भएर एक वर्षअगाडि मानिसमा सरेको हो।
त्यसयता यसले प्रत्येक महिना दुईवटाका दरले म्यूटेशन गरिरहेको छ। वुहानमा देखा परेको सुरुको स्वरूपसँग अहिलेको भाइरसको स्वरूप तुलना गर्ने हो भने २५ थरी परिवर्तन भइसकेको देखिन्छ। कोरोनाभाइरसले मानिसलाई सही तरिकाले सङ्क्रमित पार्ने शैली विकास गर्ने क्रममा थुप्रै म्यूटेशन गरिरहेको छ।
यस्तो हामीले पहिले पनि देखेका थियौँ: G614 नामक अर्को स्वरूपको भाइरसको उत्पत्ति र विश्वव्यापी विस्तारलाई कैयौँले भाइरसले थप सङ्क्रामक बन्न सफल प्रयास गरेको रूपमा अर्थ्याए।
तर अब छिट्टै खोपको आम अभियान सुरु भएपछि त्यसले भाइरसमाथि भिन्न प्रकारको दबाव सिर्जना गर्नेछ किनकि त्यसपछि उसले प्रतिरोधी मानिसलाई सङ्क्रमण गर्न आफू परिवर्तित हुनैपर्छ।
यदि त्यस्तो भयो भने कोरोनाभाइरसको खोप पनि, फ्लूको खोपजस्तै, नियमित रूपमा अद्यावधिक वा परिष्कृत गर्दै जानुपर्छ। यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ र थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।
अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन्। युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ।
भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ।
कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ। तर थप घातक रहेको प्रमाण फेला परेको छैन। यूकेको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ।
डब्ल्योएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो “नियन्त्रण बाहिर नरहेको” बताएका छन्।
उनको यो भनाइ ब्रिटिश स्वास्थ्यमन्त्रीको अभिव्यक्तिसँग बाझिएको छ।
युरोपमा के भइरहेको छ?
नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा यो महादेशको अधिकांश हिस्साले यूकेबाट हुने आगमनमाथि प्रतिबन्ध लगाइसकेको छ।
फ्रेन्च सरकारले यूकेबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि प्रतिबन्ध लगाएको छ जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन्। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको भन्दै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
ईयूमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा ब्रसल्समा अधिकारीहरूले वार्ता गरिरहेका छन्।
बाँकी विश्वले के गर्दैछ?
भारत, इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि यूकेबाट हुने आगमनमा रोक लगाएका छन्।
संयुक्त राज्य अमेरिकाले निर्णय गर्न बाँकी छ। तर ब्रिटिश एअरवेज र डेल्टाले न्यूयोर्कको जोन एफ केनेडी विमानस्थल जानका लागि यात्रुहरूले परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने अनिवार्य गरेका छन्।
साउदी अरब, कुवैत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन्।
डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ।
कोरोना भाइरस: कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा साभार बीबीसी