निजगढ । निजगढ नगरपालिकाका उपमेयर लिलादेवी लामिछाने खनालले तेक्वान्दो खेल बिकासको लागि नगर खेलकुद बिकास समिति आवश्यक रहेको बताउनु भएको छ । जनप्रतिनिधिहरु खेलकुदको बारेमा कम जानकारी भएका कारण सोचे अनुरुप खेलकुदको बिकास गर्न नसकेको बताउनु भयो । बाराको निजगढमा तेक्वान्दो डेमोस्ट्रेशन तथा बेल्ट परीक्षा कार्यक्रममा सम्बोधन गर्दै उपमेयर खनालले सो कुरा बताउनु भएको हो ।
स्मार्टसिटी बाग्देव तेक्वान्दो डोजाङको आयोजनामा भएको डेमोस्ट्रेशन तथा बेल्ट परीक्षा कार्यक्रमका प्रमुख अतिथि खनालले तेक्वान्दो लगायत सबै खेल बिकास गर्न बिज्ञ सम्मिलित नगर खेलकुद बिकास समिति भए सोही मार्फत पर्याप्त रकम निकासा गरी काम गर्न सहज हुने बताउनु भयो । उहाँले डोजाङका लागि खेलकुद सामाग्री लगायत आवश्यक सहयोग गर्न आफू तयार रहेको समेत बताउनु भयो । उपप्रमुख खनालले विद्यालयस्तरबाट खेलकुद प्रशिक्षण गर्न तर्फ सबैले अग्रसर हुनुपर्ने र खेलकुदका लागि विद्यार्थीहरुबाट लिंदै आएको शुल्कको आधार पनि अनिवार्य खेलकुद प्रशिक्षक राख्नु पर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष थलप्रसाद गौतमले खेलकुद बिकास बिद्यालयबाटै हुनुपर्ने बताउदै विद्यालयलाई खेलकुद प्रशिक्षक नियुक्त गरी काम अगाडि बढाउन आग्रह गर्नु भयो । उहाँले खेल सामाग्रीका लागि वडाले सक्दो सहयोग गर्ने बताउँदै कुनै समस्या भए वडाले सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक गुरुप्रसाद गौतमले खेलकुदका कारण आफ्ना बालबालिकाको स्वास्थ्य राम्रो हुने बताउँदै विद्यालयस्तरबाट तेक्वान्दो प्रशिक्षणका लागि सबैले दबाब दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा श्री सार्वजनिक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले आफुहरु खेलकुद बिकासका लागि सक्दो सहयोग गर्ने बताउनु भयो । डोजाङका डोजाङ प्रमुख यान कुमारी चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेक्वान्दो संघ बाराका सचिव लोकबहादुर खुलालले स्वागत मन्तव्य तथा तेक्वान्दो पूर्व खेलाडी तथा राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, उपाध्यक्ष गणेश पाण्डे, तेक्वान्दो सहायक प्रशिक्षक हेमलाल श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री जीतसिंह लामा, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, जनजागृती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, वडा नं. ४ का वडाअध्यक्ष जयराम कुंवर लगायतको उपस्थिति रहेको थियो । बाराको निजगढ–४ निवासी यान कुमारी चौलागाईं साफ गेममा नेपालका लागि पदक ल्याउन सफल खेलाडी हुन भने उनले एशियन लगायत थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी छिन् ।