कलैया ÷ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोपाल ठाकुरले पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोगले बयल गाढा चुनाव चिन्ह दिने र त्यसैमा चढेर उहाँ अमेरिका जाने बताउनु भएको छ ।
आफनै पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रचण्ड माधब पक्षिय नेता कार्यकर्ताहरुले देशब्यापी बिरोध कार्यक्रम अनुसार सदरमुकाम कलैयामा पनि प्रदर्शन कार्यक्रममा बोल्दै ठाकुरले सो कुरा बताउनु भएको हो । ठाकुरले जनताको अभिमतले ठुलो पार्टी बनेर सरकार सञ्चालन गर्दा समेत जनताको अपेक्षा अनुसार काम हुन नसक्नुको दोषी प्रधानमन्त्री ओली रहेको बताउनु भयो । उहाँले भाषणमा ठुला कुरा गरेर जनतालाई भ्रम छरेको र ब्यक्ती अहमता र गुटको पक्षमा लागेकाले प्रधानमन्त्री ओली जीवनमै कलकिंत बनेको आरोप लगाउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाराका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा कलैयामा नारा जुलुश गर्दै शक्ती प्रदर्शन गरेको हो । नेकपा बाराको कार्यालय मदन आश्रित स्मृति भवन कलैयाबाट निस्केको जुलुस बजार परिक्रमापछि भरत चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
देव नारायण चौधरीको सहजीकरणमा सम्पन्न विरोध सभामा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले ओलीले संसद विघटन गरेर असंवैधानिक, प्रतिगामी र गणतन्त्र विरोधी काम गरेको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सभा सदस्य सुन्दर वि.क., प्रदेश कमिटी सदस्यहरु छठु प्रसाद यादव, शिवचन्द्र कुश्वाहा, बिभा कार्की, राजन पौडेल, श्रीप्रसाद पासवान, तपेश्वर चौधरी, रबिराज दंगाल, मुकेश साह लगायतले प्रधानमन्त्री ओलीको कडा शब्दमा बिरोध गरे ।