नगरबासीलाई विस्थापित बनाएर बन्ने रेलमार्ग मान्य हुदैन ः मेयर खनाल

तराइ संचार
तराइ संचार 632 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढका मेयर सुरेश कुमार खनालले रेलमार्गकाकारण नगरबासीहरुलाई विस्थापित बनाउन नहुने बताउनु भएकोछ । पुर्व—पश्चिम रेलमार्गको निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माणको लागि सर्वे गर्ने कार्यमा विवाद उत्पन्न भएपछी सोमबार निजगढमा भएको सर्वपक्षीय छलफलका क्रममा मेयर खनालले यस्तो बताउनु भएको हो । वस्ती भित्र बाट गुज्रिने रेलमार्गको विकल्प खोजेर सम्भव भएसम्म वस्ती भन्दा टाढा कम क्षति हुने गरी रेलमार्ग निर्माण गर्नु उपयुक्त हुने रेल बिभागलाई सुझाव दिनुभएको छ ।
पुर्व—पश्चिम रेलमार्ग निर्माणको लागि केहि हप्ता अघि निजगढ खण्डमा सर्वे गर्ने क्रममा निजगढ घर बस्ती र शहर बीचबाट रेलमार्ग बन्दा ठुलो संख्यामा मानव वस्ती विस्थापित हुने भएकाले रेल विभागले समयमै कम क्षति हुने गरी काम गर्नु पर्ने सबैको सुझाव रहेको थियो । निजगढको पश्चिम तर्फबाट बग्ने लालबकैया नदि नजिकबाट रेलमार्ग निर्माण गर्दा मानव वस्ती जोगिने भन्दै वस्ती भित्रबाट भएको सर्वे रोकी अन्यत्र विकल्प निकाल्न रेल बिभागलाई आग्रह समेत गरेका छन् । प्रभावित निजगढका स्थानीय विष्णु खड्काको नेतृत्वमा स्थानीय वासिन्दाहरुले नगरपालिकामा केहि हप्ता अघि ज्ञापनपत्र पेश गरेका थिए । नगरवासीको सोहि मागलाई सम्बोधन गर्दै मेयर खनालले रेल विभागका सिनियर डिभिजनल ईन्जिनियर देवेन्द्र साह उपस्थित छलफलमा मानव वस्ती र वन तथा वातावरण समेत जोगिने गरि सर्वे गर्नुपर्ने कुरामा स्थानीयको जोड दिएका छन ।
स्थानीयको विरोध सगै रोकिएको सर्वे गर्ने कार्य सुचारु गर्न सम्भावित विकल्प खोज्ने उद्धेश्यले भएको छलफलमा रेलमार्गको सम्भावित नक्शा र प्रारम्भिक अध्ययन सम्बन्धमा प्रस्तुतीकरण समेत भएको थियो । प्रस्तुतीकरणको क्रममा निजगढ हुदै मकवानपुरको हेटौंडातर्फ जाने पुर्व पश्चिम रेलमार्गको निजगढ खण्डमा बन्न सक्ने सम्भावित ४ वटा विभिन्न नक्शां प्रस्तुत गरिएको थियो । निजगढको दक्षिणी क्षेत्र रौतहटको गुजरा हुदै निजगढतर्फ आउने रेलमार्ग पहिलो विकल्पमा निजगढको मुख्य बजार क्षेत्र हुदै उत्तरतर्फ जाने,दोश्रोमा लालबकैया नदीको निजगढ तर्फ पूर्वी किनारा हुदै निजगढका पश्चिमी मानव वस्ती हुदै उत्तरतर्फ लाग्ने,तेस्रोमा निजगढ नगरपालिका क्षेत्रको पश्चिम सिमाना हुदै चुरे पहाड तर्फबाट उत्तर जाने र चौथोमा निजगढको दक्षिणी क्षेत्र हुदै मानव वस्ती प्रवेश नगरी लालबकैया नदिको पश्चिमी किनारा हुदै उत्तरतर्फ जाने रेलमार्ग सर्वे गरिरहेको मध्येको एक नेपाली कम्पनी फुल ब्राईट कन्सल्टेन्सीका डाईरेक्टर मन्जुल कृष्ण मानन्धरले प्रस्तुत गर्नुभएको थियो । छलफलको क्रममा निजगढका स्थानीयले शहर बिचको मानव वस्ती भन्दा टाढा हुनेगरी रेलमार्ग निर्माण भएमात्र आफुहरुलाई मान्य हुने बताउदै अन्यथा कुनैपनि अवस्थामा रेलमार्ग निर्माण हुन् नदिने अडान लिएको छलफलमा सहभागी स्थानीय विष्णु खड्काले बताए । स्थानीयको माग जायज रहेको बताउनुहुदै रेल बिभागका सिनियर डिभिजनल ईन्जिनियर देवेन्द्र कुमार साहले आफुले माथिल्लो तहमा प्रभावितहरुको धारणा व्यक्त गर्ने बताउनुहुदै तत्कालकोलागि सर्वे गर्ने कार्यलाई अवरोध नगर्न आग्रह गर्नु भएको छ । ईन्जिनियर साहले सकेसम्म मानववस्ती भन्दा टाढाबाट रेलमार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकता दिन जोड गर्ने बताउनुभयो । सोमबार सम्पन्न छलफलमा स्थानीय तहका जनप्रतिनिधि लगायत राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, प्रभावित बासिन्दाहरुको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content