निजगढ ।
खानेपानीको समस्या भोग्दै आएका निजगढको लालमा खानेपानी ट्यांकी निर्माण हुने भएको छ । निर्माण स्थलको मंगलबार स्थलगत अनुगमन गरिएको छ । लाल खानेपानी उपभोक्ता समुह मार्फत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाले ओभरहेड ट्यांकी निर्माण गर्न लागेको समुहकी अध्यक्ष चन्दा लामाले बताउनु भयो ।
निजगढका मेयर सुरेश कुमार खनाल,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाका प्रमुख जकी अहमद अन्सारी, वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान लगायतले निरिक्षण गरेका हुन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाले सबा २ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गर्ने ईन्जिनियर किशोरी यादवले बताउनुभयो ।
निरीक्षणको क्रममा निजगढका मेयर सुरेश कुमार खनालले ट्यांकी निर्माण पश्चात लालका करिब ८० प्रतिशत नागरिकको खानेपानीमा पहुच पुग्ने भएकोले प्राथमिकताका साथ निर्माण कार्यलाई अगाडी बढाउन डिभिजन प्रमुख अन्सारीलाई आग्रह गर्नुभएको थियो । मेयर खनालले खानेपानी समस्या समाधानका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनु हुदै जति सक्दो छिटो ठेक्का आह्वान गर्न आग्रह गर्नु भयो । निर्माणको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पहिलो चरणमा १० लाख रुपैंया विनियोजन गरेको जनाएको छ ।