सिकेन्द्र पासवान
कलैया नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री एनपी साउदले संसद पुर्नस्थापना भए देशमा अझै अन्योलता र जटिलता थप्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराले आयोजना गरेको भेटघाट कार्यक्रमलाई कलैया स्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै साउदले संसद पुनरस्थापना भए राष्ट्रपतिलाई महाअभियोग लगाउने सम्मको काम हुन सक्ने बताउनु भयो ।
नेपाली काँग्रेसलाई संसद पुनरस्थापना भन्दा निर्वाचनमा जानु फलदायी हुने बताउदै साउदले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुदा चुनावबाट भागेर कहिलेपनि जान नहुने बताए । दुई तिहाईको केपीशर्मा ओलीले नेतृत्व गरेको सरकार तीन बर्षमै फेल खानु जनताको जनमतको उपहास भएको उनले बताए ।
अहिले नेपाली काँग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुदा बिगतका सबै कमीकमजोरीहरुलाई बिर्सेर एकजुट भई अगाडी बढनुपर्ने आजको आवश्यकता रहेको साउदले बताए । पुर्व मन्त्री साउदले भदौमा नेपाली काँग्रेसका अधिवेशन गर्ने कानुनी जटिलता रहेको हुदा जसरी पनि अधिवेशन गराउनु पर्ने बाध्यात्मक अबस्था रहेको बताए । पार्टी सभापति जयचन्द्र चौरसियाको सभापतित्वमा सम्पन्न सो भेटघाट कार्यक्रममा पुर्व मन्त्री गोबिन्द्र बहादुर शाह, संविधानसभा सदस्यहरु कलावती पासवान, डा. शोभाकर पराजुली, रामअयोध्या प्रसाद यादव, मधु शाही लगायतको सहभागिता रहेको थियो ।