निजगढ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आफैँ बनाउने गरी प्रक्रिया अगाडि बढाए पछि यस क्षेत्रका स्थानीयमा खुशी देखिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले गत आइतबार पर्यटन मन्त्रालयमा सरकार आफैँले विमानस्थल निर्माण गर्ने गरी प्रस्ताव पठाएपछि झण्डै ३० बर्ष अघिदेखि चर्चामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन तम्सनु ढिला भएपनि ठिक रहेको स्थानीय युवानेता पेमासिद्धि लामाले बताए । सोमबार पर्यटन मन्त्रालयले अर्थ मन्त्रालय र योजना आयोगमा निजगढ अन्तराष्ट्रिय विमानस्थल नेपाल सरकारले बनाउने सहमतिका लागि प्रस्ताव पठाएपछि स्थानीयले सकारात्मक प्रतिकृया दिदै आएका छन् ।
प्राधिकरणको प्रस्तावमा १ खर्ब २० अर्बमा पहिलो चरणको विमानस्थल तयार गर्न सकिने जनाउदै वार्षिक २० अर्ब रुपैयाँ छुट्याउन समेत प्रस्ताव गरि पठाएको हो ।
त्यस्तै, साना र ठूला गरेर पहिलो चरणमा ५ लाख १९ हजार रूख कटान गर्नुपर्ने पछिल्लो टाँचा अभियानले देखाएपछि सरकार विमानस्थल निर्माणमा जुटेको हो । यस अघि कुन मोडेलमा बनाउने बिषय सरकारले निर्धारण गर्न नसक्दा ढिलाई हुदै आएको थियो ।
सरकारले विगतमा पिपिपी मोडलमा बनाउने भन्ने प्रक्रिया रोकेर अहिले आफैँ बनाउने निर्णय गर्न लागेको हो । लगानी बोर्डले निर्णय नगर्दा अलपत्र परेको बारामा निर्माणको चरणमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउन सम्झौता भइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुरुयोजनाका लागि सिजी इन्फ्राटारविडिए जेभीसँग सम्झौता गरेको थियो ।
सरकारले बिमानस्थल निमार्णमा आफै बनाउने भनी गरेको निर्णय स्वागतयोग्य कदम भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भएको छ । यो सकारात्मक कदमलाई सबैले आत्मसाथ गर्नुपर्छ खनालले बताउनु भयो । झण्डै ३० बर्ष अघिदेखि चर्चा पाएरपनि निर्माण शुरु हुन नसक्नु दुखको बिषय भएको अझै पनि जालझेल भए सबै चनाखो हुनुपर्ने खनालले बताउनु भयो ।