बारामा कोरोनाको खोप तोकिएको समयमा सम्पन्न नहुने, शनिबारसम्म ८ सय ४० ले लगाए खोप

तराइ संचार
तराइ संचार 604 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
सिमरा । सरकारले उपलब्ध गराएको पहिलो चरणको खोप बारामा निर्धारित समयमा नसकिने भएको छ । शनिबार चौथो दिनसम्म केबल बारामा ८ सय ४० जनालाई मात्र खोप लगाईएको छ ।

पहिलो दिन सदरमुकाम कलैया र जिल्ला स्वास्थ्य कार्यालय र बाकी पाँच पाँच पालिकालाई गरी पाँच दिनमा पहिलो चरणको खोप लगाउने लक्ष्य लिएपनि लक्षित महिला स्वयम सेविका कममात्रै आएका कारण तोकिएको समयमा खोप लाग्न नसक्ने भएको जिल्ला स्वास्थ्य कार्यालय बाराका निमित्त स्वास्थ्य प्रमुख रामनरेश यादवले बताउनु भएको छ ।

बारामा २६ सय डोज खोप आएकोमा पहिलो चरणमा २४ सयलाई पाँच दिनमा खोप लगाउने लक्ष्य लिएको भएपनि चौथो दिनसम्म आठ सय ४० लाई मात्र लागेको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविका, एम्बुलेन्स र शववाहनका चालक लगायतलाई खोप लगाईरहेको यादबले बताए ।

बारामा ११ खोप केन्द्र भएपनि सदरमुकामबाट मात्रै खोप बितरण र पहिलो प्राथमिकतामा राखेका झण्डै १ हजार स्वयंसेविकाहरु मध्ये धेरै खोप लगाउन नआएका कारण लक्ष्य अनुसार खोप लगाउन नसकिएको उहाँले बताउनु भयो ।

कोरोना महामारी फैलिएपछि झण्डै एक बर्ष पछि देशभर कोरोना बिरुद्धको खोप लगाउने क्रम बढेको छ । सरकारले देशभर एकै पटक कोरोना बिरुद्धको खोप लगाउन अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेको हो ।

सदरमुकाम जिल्ला स्वास्थ्य कार्यालयबाट मात्रै खोप बितरण हुँदा खोप लगाउन जानेहरुलाई समस्या भएको खोप केन्द्र पुगेका डुमरवानाका स्वास्थ्यकर्मी नारायण आचार्यले बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी खोप अभियान शुरु गरिएको हो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दिपेन्द्र शाही लगायतको उपस्थितिमा कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम शुरु गरिएको हो । नेपाललाई भारत सरकारले उपलब्ध गराएको १० लाख डोज अनुदानको खोप पहिलो चरणमा लगाउन शुरु गरिएको हो ।

भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

ज्वरो आएका, दीर्घ रोगी, सुत्केरी र गर्भवती महिलाहरुले कोभिड बिरुद्धको खोप लगाउन नहुने स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो । यो खोप चार हप्ता वा एक महिनाको अन्तरमा दुई डोज खोप लगाउनु पर्ने उहाँले बताउनु भयो । कोरोनाबाट बच्न १८ बर्ष भन्दा माथि उमेरका सबैलाई यो खोप लगाउन मिल्ने बताईएको छ ।

खोप लगाएको साइड इफेक्ट केही भइहाल्ने हो कि भनेर आधा घण्टा खोप लगाइसकेपछि बस्ने बन्दोबस्त मिलाइएको सो समयमा कुनै असर नगरे खासै असर नदेखिने उहाँले बताउनु भयो । खोपले नियमित सञ्चालनमा रहेका अन्य ११ वटा खोपहरु जस्तै कोभिड बिरुद्धको खोपले पनि सामान्य असर देखिने टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, वान्ता आउने जस्ता समस्या देखापर्ने यादबले बताउनु भयो ।

बारामा हालसम्म १० जनामा सामान्य असर देखिएको र कसैलाई कुनै असर नगरेको बताउँदै खोपबाट कोही पनि डराउनु पर्ने अवस्था नरहेको यादवले बताउनु भयो । भ्याक्सिन लगाईसकेपछि वा लगाउनु अघि जाँड रक्सी, सुर्ती जस्ता वस्तुहरु सेवन नगर्दा राम्रो हुने उहाँले बताउनु भयो ।

प्रदेश स्वास्थ्य निर्देशक बिजय झाका शुक्रबारसम्म करिब पाच हजार लगाईसकेको बताउदै कुनै जटिल प्रकारका समस्या नदेखिएको उहाँले बताउनु भयो ।

भोकभोकै दिनभर खोपमा खट्नु परेको खोप केन्द्रका स्वास्थ्यकर्मीको गुनासो

कलैया । सरकारले खोप केन्द्र सञ्चालनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खाजा, नास्ता र भत्ताको बन्दोबस्त नभएका कारण भोकभोकै दिनभर खोप लगाउन खट्नु परेको खोप केन्द्रका स्वास्थ्यकर्मीले बताएका छन् ।

उनीहरुले दिनभर खोप कार्यमा खटेपनि सामान्य नास्ता पानी समेत खाने ब्यवस्था नहुदा आफुहरु मारमा परेको एक स्वास्थ्यकर्मीले गुनासो गरे । सो बारेमा स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवले खोप केन्द्रमा खट्ने कर्मचारीहरुका लागि आजका दिनसम्म कुनै व्यवस्था नगरेकोले आफूले कर्मचारीहरुलाई कुनै सुविधा दिन नसकेको बताउनु भयो ।

सुबिधा आएको अबस्थामा सुबिधा उपलब्ध गराउने उहाले बताउनु भयो । खोप केन्द्रमा खटेका स्वास्थ्यकर्मीहरुले सुविधा नपाएको सम्बन्धमा प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका प्रमुख बिजय झाले सरकारले हतारमा खोप शुरु गरेकाले सिलिङ कार्यालयसम्म पुग्न ढिलाई भए पनि खोप केन्द्रमा खट्ने कर्मचारीहरुले सुविधा पाउने बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content