सिमरा । बारामा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या एक हजार आठ सय सात जनाले लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका नि. प्रमुख राम नरेश यादबले आज अन्तिम दिनसम्म लक्ष्य भन्दा कम १८०७ जनाले खोप लगाएका हुन ।
बारामा २६ सय डोज खोप आएकोमा पहिलो चरणमा २४ सयलाई पाँच दिनमा खोप लगाउने लक्ष्य लिएको भएपनि लक्ष्य भन्दा कम १८०७ जनाले खोप लगाएका हुन ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविका, एम्बुलेन्स र शववाहनका चालक लगायतलाई खोप लगाईरहेको यादबले बताए ।
बारामा सदरमुकामबाट मात्रै खोप बितरण भईरहेको र पहिलो प्राथमिकतामा राखेका झण्डै १ हजार स्वयंसेविकाहरु मध्ये धेरै खोप लगाउन नआएका कारण लक्ष्य अनुसार खोप लगाउन नसकिएको उहाँले बताउनु भयो ।
सरकारले देशभर एकै पटक कोरोना बिरुद्धको खोप लगाउन अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेको हो ।
नेपाललाई भारत सरकारले उपलब्ध गराएको १० लाख डोज अनुदानको खोप पहिलो चरणमा लगाउन शुरु गरिएको हो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।
ज्वरो आएका, दीर्घ रोगी, सुत्केरी र गर्भवती महिलाहरुले कोभिड बिरुद्धको खोप लगाउन नहुने स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो । यो खोप चार हप्ता वा एक महिनाको अन्तरमा दुई डोज खोप लगाउनु पर्ने उहाँले बताउनु भयो ।
कोरोनाबाट बच्न १८ बर्ष भन्दा माथि उमेरका सबैलाई यो खोप लगाउन मिल्ने बताईएको छ । खोप लगाएको साइड इफेक्ट केही भइहाल्ने हो कि भनेर आधा घण्टा खोप लगाइसकेपछि बस्ने बन्दोबस्त मिलाइएको सो समयमा कुनै असर नगरे खासै असर नदेखिने उहाँले बताउनु भयो ।
खोपले नियमित सञ्चालनमा रहेका अन्य ११ वटा खोपहरु जस्तै कोभिड बिरुद्धको खोपले पनि सामान्य असर देखिने टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, वान्ता आउने जस्ता समस्या देखापर्ने यादबले बताउनु भयो । प्रदेश २ मा २२ हजार ७५६ जना शुक्रबार सम्ममा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या पुगेको छ ।