कलैयामा एम.सि.एच. क्लिनिक नहुँदा सेवाग्राही मारमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 934 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको सदरमुकाम कलैया र उपमहानगरपालिका अन्र्तगतका पालिकाहरुलाई समेत सेवा दिदै आएको एकमात्र एम.सि.एच. क्लिनिक बन्द हुँदा सेवाग्राहीहरु मारमा परेका छन् ।

प्रदेश सरकार र स्थानीय निकायले यसको बैकल्पिक व्यवस्था नगर्दा सदरमुकाम आसपास र उपमहानगरपालिकाका सेवाग्राहीहरु बीरगंज र अन्यत्र जान बाध्य हुँदै आएका छन् ।

संघीय संरचनामा गएपछि जिल्ला अस्पतालबाट सेवा प्रवाह हुँदै आएको एकमात्र एम.सि.एच. क्लिनिक बन्द हुँदा सेवाग्राहीहरु मारमा परेका हुन् ।

एम.सि.एच. क्लिनिक अन्तर्गत खोप कार्यक्रम, गर्भवती जाँच तथा प्रसुती सेवा, परिवार नियोजनको अस्थायी साधन डिपो, नरप्लान्ट, आई.यु.सि.डी लगायतका सेवाहरु दरबन्दी काटिएपछि पूर्ण रुपमा बन्द भएको हो ।

त्यसो त उपमहानगरपालिकामै यस्तो सेवा दिने सरकारी अस्पताल नहुँदा सेवाग्राहीहरु निजी क्लिनिकहरुमा ठगिन बाध्य हुँदै आएको बताइएको छ ।

सदरमुकाममा सञ्चालित एम.सि.एच. क्लिनिकमा फेटा, प्रसौनी लगायतका आसपासका नगरपालिकाका सेवाग्राहीहरु समेत आउने गरेको भएपनि क्लिनिक बन्दले ठूलो जनसंख्या मारमा परेको छ ।

सरकारले कर्मचारी समायोजन र दरबन्दी मिलान गर्दा एम.सि.एच. क्लिनिकका कर्मचारीको दरबन्दी कटौती गरी अन्तै समायोजन गरेपछि यो क्लिनिक सदरमुकाममा बन्द भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश यादवले बताउनु भएको छ ।

सरकारले स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य संस्थाहरुलाई स्तरउन्नती लगायत वडा–वडाबाटै सेवा प्रवाह गर्ने बताउँदै आए पनि सदरमुकाम र उपमहानगरपालिकामै यस्तो सेवा नहुँदा नागरिकहरु मारमा परेको नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउनु हुन्छ ।

कलैया–६ निवासी रामरती देवी यादव एम.सि.एच. क्लिनिक नहुँदा खोप परिवार नियोजनको अस्थायी साधन लगायत महिलाहरुको धेरै समस्या सहजिकरण हुने एम.सि.एच. क्लिनिक बन्द हुँदा एकातर्फ ठगिन बाध्य भएको तथा अर्कोतर्फ सेवा लिनका लागि धेरै दुःख पाई बीरगंजसम्म पुग्नु परेको बताईन् ।

शेयर
प्रतिक्रिया
Skip to content