बालगगां खोलामा निर्माण भईरहेको पुल जग्गा विवादका कारण रोकिएको छ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 724 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको बालगगां खोलामा निर्माण भईरहेको पुल जग्गा विवादका कारण रोकिएको छ । निर्माणको काम लामो समयसम्म सुस्त हुदै आएकोमा केहीसमय यता तदारुकता देखाई रहेको अवस्थामा पुलले ब्यक्तीगत जमिन मिचेको भन्दै जिल्ला अदालतमा सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंले अदालती प्रकृयाबाट पुल निर्माण कार्य रोक्का गरेको हो ।
हाउजिंग कम्पनीले आफ्नो जमिनमा पुल बनाएकाले पुल भत्काई निर्माणकार्य यथाअवस्थामा राखी पाउँ भनि मुद्दा परेको हो । मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत बाराले ०७७ माघ ६ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । हाउजिंग कम्पनका तर्फबाट कलैया उपमहानगरपालिका २४ सखुईका रामेश्वर प्रसाद यादवले गत पौष २४ मा जिल्ला अदालत बारामा मुद्दा दर्ता गरेका हुन् ।
छलफलका क्रममा पुल निर्माण कम्पनी रसुवा आश्रय केभी काठमाण्डौंले जग्गा विवाद मिलाउने काम आफ्नो नभई सरकारको भएको भन्दै पन्छिएपछि काम रोकिएको हो ।
फागुन मसान्त सम्ममा निर्माण कार्य गर्ने समय सिमा रहेको निर्माण कम्पनीले विवाद भएपछि निर्माण सामाग्री र कामदार फिर्ता लाने बताएको छ । सिमराबाट मनहर्वा, जैतापुर, हरैया, कोल्हवी सम्म जाने हजारौं मानिस सयौं मालवाहक सवारी समस्यमा पर्दै आएका छन् ।
३ स्पानको १ सय २५ मिटर लम्बाईको सो पुलको ढलान कार्य पुरा भएको छ । पूर्व तर्फ माटो भरेर पश्चिम तर्फ माटो भर्ने क्रममा अवरोध हुँदा आगामी फागुन मसान्त भित्र आवागमन योग्य बनाई सक्ने निर्माण पक्षको योजना प्रभावित बनेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content