निजगढ । निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले नगरमा तामाङ बाहुल्य रहेको निजगढमा तामाङ समुदायका विध्यार्थीहरुका लागि तामाङ भाषा मार्फत अध्यापन गर्ने गरी नगरपालिकाले तयारी गरिरहेको बताउनु भएको छ ।
शैक्षिक र सामाजिक रुपमा पछी परेका तामाङ लगायत अन्य समुदायको उत्थानको लागि नगरपालिकाले सामाजिक बिकासका कार्यक्रममा समेत जोड दिने बताउनु भएकोछ ।
२८५७ औ सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ बाराले निजगढको लालमा आयोजना गरेको सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुहुदै मेयर खनालले सो कुरा बताउनु भएको हो ।
निजगढमा तामाङ समुदायका नागरिकहरु शैक्षिक र आर्थिक क्षेत्रमा पिछडिएको समेत उहाँले बताउनु भयो ।
यसैगरी उपप्रमुख लिलादेवी लामिछाने खनालले तामाङ समुदायको शैक्षिक स्तर वृद्धि गर्न नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो । उपप्रमुख खनालले तामाङ भाषा र संस्कृतिको जगेर्ना गर्दै निजगढलाई तामाङ समुदायको पहिचानको रुपमा बिकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल तामाङ घेदुङ बाराका अध्यक्ष सुर्य घलानको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश २ का अध्यक्ष पेमासिद्धि लामा, नेपाल तामाङ घेदुङ संघका केन्द्रिय संगठन बिभाग सदस्य आशीष तामाङ, निजगढ वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान,वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले लागायतको सहभागिता रहेको थियो ।