सिमरा । महा शिवरात्री तथा सेना दिवस २०७७ को अवसरमा नेपाली सेनाले बाराको निजगढ नगरपालिका रतनपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोे छ ।
स्वास्थ्य सेवाबाट बञ्चित ग्रामिण भेगका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न नेपाली सेनाले बाराको दुर्गम ग्रामिण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बारा जिल्लास्थित सिद्धीबक्स गणले बाराको निजगढ नगरपालिका ११ रतनपुर राष्ट्रिय माध्यामिक बिद्यालयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि यस भेगका स्थानीय लाभान्वित बनेका छन् ।
ग्रामिण भेगमा नागरिकलाई स्वास्थ्य लाभ पुर्याउन र सेना नागरिक बिचको सम्बन्धलाई प्रगाढ बनाउन स्वास्थ्य शिविर सन्चालन गर्नुपरेको नेपाली सेना सिद्धिबक्स गणका प्रमुख सेनानी प्रकाश थापाले बताउनु भयो ।
कोरोना भाईरस संक्रमणका कारण लामो समय अस्पतालको पंहुच बाहिर रहेका बिपन्न समुदाय, जेष्ठ नागरिक र बालबालिको स्वास्थ्यमा देखिएको जोखिमलाई मध्यनजर गर्दै गाउंमा सेनाको स्वास्थ्य शिवर पुगेपछि स्वास्थ्य सेवा लिन निजगढ नगरंपालिकाको रतनपुर, डम्वरपुर, चकरी लगायत आसपासका वडा र झिमेकी पालिका गरी झण्डै ७ सय २३ नागरिकले स्वास्थ्य उपचारको लाभ लिएको आयोजकले जनाएको छ ।
शिविरमा हाडजोर्नी, दम, छाला रोग, प्रेसर, ग्यासटिक र रुघाखोकिका बिरामी भेटिएको ड. कृष्टिना प्रधानले बताउनु भयो ।
गाउंमा भएको स्वास्थ्य संस्थाहरुले भरपर्दो सेवा दिन नसकेको अवस्थामा सेनाको स्वास्थ्य शिविर गाउंमा पुग्दा सर्वसाधारणहरु हर्षित भएका थिए ।
सेनाले उनीहरुको स्वास्थ्य उपचार गर्नुका साथै आवश्यक औषधि पनि बितरण गरेको थियो ।