सिमरा । बाराको जीतपुरसिमरा अन्तर्गत रहेका उद्योगहरुले सडकमै पार्किङ गर्ने गरेको भएपनि ट्राफिक र स्थानीय सरकार मौन रहेका कारण राजमार्गमा सवारी दुर्घटना र आवत–जावतमा समस्या हुँदै आएको छ ।
पथलैया–बीरगंज सडक खण्डमा स्थापित नेपालकै प्रतिष्ठित उद्योगहरुले राजमार्गमै सवारी पार्किङ गर्दै आएका छन भने सवारी पार्किङ भएको जगदम्बा लगायतका उद्योगहरुले समेत राजमार्गमै सवारी पार्किङ गर्दै आएका छन् ।
सवारी दुर्घटना र सवारी आवात–जावतमा कठिनाई हुँदै आएको भएपनि ट्राफिक प्रहरी मौन बस्दै आएको छ ।
दैनिक एक उद्योगबाट पचासौ ट्रक आवत–जावत गर्ने गरेको भए पनि उद्योगले आफ्नो सवारी पार्किङ स्थल नबनाउँदा स्थानीय सरकारलाई सवारी पार्किङ टाउको दुखाईको बिषय बनेको छ ।
बाराको पथलैयामा प्रदेशकै नियन्त्रण गर्ने ट्राफिक प्रहरी प्रमुख भएपनि जीतपुरसिमराको अब्यवस्थित राजमार्गमै सवारी पार्किङ हुदै आए पनि नियन्त्रण गर्ने तर्फ ट्राफिक प्रहरीको ध्यान जान नसक्नु दुःखद भएको स्थानीयहरुले बताएका छन् ।
ट्राफिक प्रहरीले हरेक उद्योगहरुसँग मिलोमतो गरी राजमार्गमै सवारी पार्किङ गर्न छुट दिएपछि यस क्षेत्रमा ट्राफिक नियमको ठाडो उल्लंघन हुँदै आएको छ ।
बाराको जगदम्बा स्टीलले आफ्नो सवारी पार्किङ स्थल बनाएको भए पनि ट्राफिक प्रहरीको मिलोमतोमा अधिकांश सबै लहरी र ट्रकहरु राजमार्गमै सवारी पार्किङ गर्दै आएको छ । सवारी साधन धेरै आउने भएकोले राजमार्गमै पार्किङ गर्ने गरेको छ ।
राजमार्गमै सवारी पार्किङ गरेका कारण केही दिन अघि जीतपुरसिमरा–१ पथलैयामा रोकि राखेको ट्रकमा विहानको समयमा मोटरसाइकल ठोक्किएर हेटौडा निवासी एक सवारको घटनास्थलमै मृत्यु भएको थियो । त्यसो त राजमार्गमै रोकी राखेको ट्रेक्टरका कारण बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समेत मृत्यु भएको थियो । यस्ता उदाहरण मात्र हुन् । अन्नगिन्ती सवारी दुर्घटनाको कारण राजमार्ग बीचैमा सवारी पार्किङका कारण दुर्घटना हुँदै आए पनि अन्नगिन्ती रकम सवारी दुर्घटना न्यूनिकरण र साक्षात्कार कार्यक्रम गोष्ठी गर्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयले खर्च गरे पनि बालुवामा पानी सरह हुदै आएको छ ।
राजमार्गमा सवारी पार्किङ हटाउने तर्फ ट्राफिक प्रहरी महिनावारी र रकम असुल्नमा मात्र लागेपछि प्रदेश ट्राफिक प्रहरी प्रमुख कै गेट देखि नै राजमार्ग क्षेत्रमा सवारी पार्किङ भईरहेको छ ।
करोडौ रुपैया खर्चेर उद्योग स्थापना गरी मोटो रकम कमाउँदै आए पनि आफ्ना सवारीलाई पार्किङ स्थल बनाउन नसक्ने उद्योगहरु बिरुद्ध स्थानीय प्रशासन र तीनै तहका सरकारले कारबाहीको दायरामा ल्याउन सकेका छैन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, प्रदेश नं. २, पथलैया बाराका ट्राफिक प्रहरी उपरिक्षक हिमालय श्रेष्ठले उद्योग, ट्रक, ट्रयाक्टर व्यवसायी लगायत सबै पक्षलाई राजमार्गमा सवारी पार्किङ नगर्न र गरेको पाइएमा कारबाही हुने जानकारी सहितको लिखित र मौखिक जानकारी गराई सकेको बताउनु भयो ।
उहाँले औद्योगिक क्षेत्र र उद्योगको सवारीसाधन व्यवस्थित गर्न पार्किङ स्थल हरेक उद्योगले बनाउनु पर्ने भए पनि नभएको हुँदा राजमार्गमा सवारी दुर्घटना लगायत अप्ठेरो हुँदै आएको र पटक–पटक कारबाही समेत गरेको बताउनु भयो ।
ट्राफिक प्रहरीको मिलोमतोका कारण मात्र सवारी पार्किङ अस्तव्यस्त बनेको भन्ने नरहेको राजमार्ग क्षेत्रमा सवारी पार्किङ हटाउन स्थानीय नगरपालिका र सरकारको समेत सहयोग हुनुपर्ने श्रेष्ठले बताउनु भयो ।