तराई–मधेस द्रुतमार्ग आयोजना निजगढतर्फ काम अगाडि बढाइएको छ 

तराइ संचार
तराइ संचार 876 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ — तराई–मधेस द्रुतमार्ग आयोजना विवाद नभएको क्षेत्र केन्द्रित भएको छ ।

द्रुतमार्ग अन्तर्गत ललितपुरको खोकनातर्फ मुआब्जा विवाद सुल्झाउन गाह्रो परेपछि निजगढतर्फ काम अगाडि बढाइएको हो । सडक विस्तारले खोकनाको सांस्कृतिक सम्पदा र संस्कृति मासिने भन्दै विरोध भइरहेको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गमा अहिले वाल लगाउने र बक्स कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

केही भागमा निर्माणको काम जारी छ । खोकनातर्फको विवाद समाधान नहुँदासम्म आयोजना निजगढबाट काठमाडौंतर्फको २२ किलोमिटर क्षेत्रको काममा केन्द्रित हुने भएको छ ।

निर्माणका काम अघि बढाउन दुई चरणको कार्ययोजना रहेको आयोजनाका कार्यान्वयन तथा अप्रेसन प्रमुख विश्वबन्धु पहाडीले बताए ।

‘पहिलो चरणमा सुरु बिन्दु खोकना हुँदै काठमाडौं–मकवानपुर–बारा जिल्लासम्मको ७२।५ किमि सडकमा पहाड कटिङ र माटो फिलिङको काम सकिएको छ, केहीमा हुँदै छ,’ उनले भने, ‘वाल, बक्स कल्भर्ट, बेलिब्रिजलगायत संरचना पनि निर्माण गरिएका छन् ।

’ पहुँचमार्गसँग जोड्ने गरी बेलिब्रिज निर्माण गरिएको हो । सेनाले काम गर्न सक्ने क्षेत्रमा आफ्नै जनशक्ति प्रयोग गरेर काम गरेको उनले बताए ।

‘पहिलो चरणका धेरै काम सकिएका छन्, अब दोस्रो फेजको काम अगाडि बढाउन खोजिरहेका छौं,’ उनले भने, ‘निजगढबाट काठमाडौंतर्फको २२ किमि खण्डमा दोस्रो चरणको काम गर्ने तयारीमा छौं ।’ खोकनालगायत केही क्षेत्रमा जग्गा अधिग्रहणबारे उठेका विवाद समाधानका लागि छलफल भइरहेको उनले बताए ।

‘त्यसमा राष्ट्रिय योजना आयोगको पहलमा निकास निकाल्ने प्रयास जारी छ,’ उनले भने, ‘प्रयास सकारात्मक दिशातर्फ नै अघि बढेको छ । त्यसैले खोकना क्षेत्रमा निकास ननिस्कँदासम्म निजगढ खण्डमा दोस्रो चरणका काम पुल निर्माण, कालोपत्र गर्न तयारीमा छौं ।’

अहिले पुल निर्माणका लागि फिल्ड सर्भेको काम सकिएको छ ।

यो खण्डमा आगामी आर्थिक वर्षबाट तीनवटा प्याकेजमा काम थाल्ने गरी पूर्वतयारी छ । पुल निर्माणका लागि डिजाइन, ड्रोइङ र बिडिङ डकुमेन्ट तयार गर्ने काम भइरहेको छ ।

‘यो आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गरेर नयाँ आर्थिक वर्षबाट निर्माणमै जाने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘त्यस्तै सुरुङ निर्माणका लागि जेठभित्रमा ठेक्कामा जान सकिन्छ भन्ने छ ।’ नियमित काम गर्न पाए आगामी चार वर्षभित्र आयोजनाका मुख्य मुख्य काम पूरा हुने उनको दाबी छ । अहिले मकवानपुर, ललितपुर र काठमाडौंतर्फ भने कम काम भएको छ ।

केही खण्डमा भने काम नै भएको छैन । ‘नभएका ठाउँमा पनि छिटै काम सुरु हुनेछ,’ प्रमुख पहाडीले भने । हालसम्म १८ अर्ब ३६ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजनाको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ । २०७४र७५ मा २० र २०७५र७६ मा १० वटा ठेक्कामार्फत सडकको ट्र्र्याक तयार पार्ने काम भएको उनले बताए ।

‘अबको पहिलो काम सुरुङ निर्माणकै हुनेछ,’ उनले भने, ‘त्यसपछि पुल निर्माणका लागि ठेक्का प्रक्रिया थाल्नेछौं ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्ग आव २०८०र८१ सम्म सक्नुपर्ने छ । तर काम अपेक्षित गतिमा भने अघि बढ्न सकेको छैन ।

आयोजनाको डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० २०७६ भदौ १ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । डीपीआरमै ढिलाइले काम थाल्न केही ढिला भएको सेनाको दाबी छ ।

सेनाले द्रुतमार्गको २०७४ जेठबाट निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो । द्रुतमार्गको महादेवटार ३।३५५ किमि, धेद्रे १।६३० र लेनडाँडामा १।४३० किमि सुरुङ निर्माण गर्नुपर्नेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङ निर्माण हुनेछ । आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । १०।५९ किमिका ८७ वटा पुल निर्माण हुनेछन् ।

यी दुवै काम अहिलेसम्म सुरु हुन सकेको छैन । गौरवको आयोजना भए पनि काम नभएको भन्दै द्रुतमार्गबारे सांसदहरूले प्रश्न उठाउने गरेका छन् । हालै संसदीय समितिले आयोजनाबारे प्रश्न उठाउँदै हालसम्म भएका काम र सेनाले ठेक्का लगाएका प्रक्रियाको कागजात मागेको छ ।

यो मार्गको २०६७ मा सेनाले नै ट्र्याक खोल्ने काम गरेको थियो । पछि निर्माण व्यवस्थापनको जिम्मा सरकारले सेनालाई नै दिएको हो । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुर, काठमाडौं ४ किमि, ललितपुर ७।९ र बारामा ७।६ किमि पर्छ ।

निर्माणको काममा सेनाले पुल र सुरुङमार्गको ठेक्काका लागि भने अन्य कम्पनीलाई छनोट गरेको छ । सडक सञ्चालनमा आएपछि एक घण्टा दुई मिनेटमा काठमाडौं–बारा आउजाउ गर्न सकिनेछ ।साभार कान्तिपुर

शेयर
प्रतिक्रिया
Skip to content