सिमरा । देश संघिय प्रणालीमा गएपनि नेपाली काग्रेस बारालेअहिलेसम्म समायोजन गर्न नसक्दा जिल्लामा सदस्यता वितरण लगायत विवाद देखिएको छ ।
केन्द्रिय केही नेताहरुको स्वेच्छाचारिताको कारणले कार्यबिधि अनुसार काम हुन नसक्दा यस्तो बिवाद देखिएको नेपाली काग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादबले बताउनु भएको छ ।
पार्टीले तोकेको निर्धारित समयसिमा भित्र सदस्यताको विवरण नपठाउने जिल्लाहरूमध्ये बारा पनि एक बनेको छ । बारा जिल्लाले सदस्यता विवरण नै पठाउन सकेका छैनन् । जसका कारण महाधिबेशनमा समेत बारा जिल्ला सहभागी नहुने अबस्थामा पुगेको कोषाध्यक्ष यादबले बताउनु भयो ।
धेरै गाउपालिका मिलेर एक नगरपालिका बनेको भएपनि त्यसको प्रमुख सभापति को हुने भन्ने केन्द्रिय नेता र जिल्ला समिति बिच मतभेद भएपछि समायोजन हुन नसकेको हो । बाराको १६ स्थानीय तह मध्ये ३२ ईकाईमा विवाद भएपनि अहिले पनि १७ ईकाईमा विवाद कायम रहेको उहाँले बताउनु भयो । कार्यबिधि अनुसार जुन नगरपालिका र गाउपालिकाको कार्यालय जहाँबाट भएको छ त्यहीको ईकाई सभापति बनाउने प्रावधान भएपनि सो अनुसार नभएपछि बिवाद भएको यादबले बताए ।
समायोजनको जिम्मेवारी लिएर आएको केन्द्रिय निर्वाचन समितिले बारामा पनि स्थलगत अध्ययन गरेर केन्द्रमा प्रतिबेदन बुझाई सकेको नेपाली काग्रेस बाराका सचिब मनोज भट्टले बताउनु भयो । समितिले गरेको काम चित्त नबुझेर केही जिल्लाका नेताहरुले केन्द्रमा उजुरी गरेको समेत भट्टले बताए । गुटका हिसाबले उजुरी गएकोले आफुहरुले पनि पुन उजुरी गरेको भट्टले बताए ।
समायोजन र सदस्यताको विवाद भएका स्थान बाहेक सबै ईकाईमा सदस्यता बितरण बैशाख ३ गतेपछि तिव्ररुपमा गर्ने तयारीका लागि जिल्ला कार्य समितिको बैठक बैशाख ३ गते आयोजना गरिएको नेपाली काग्रेस बाराका सभापति जयचन्द्र चौरसियले बताउनु भएको छ । समायोजनको विवाद भएका स्थानमा केन्द्रको निर्णय र आफै उपस्थित भएरपनि केहीसमयपछि पनि गर्न सकिने भएको हुदा सदस्यता बितरण काम तिब्र गतिमा सक्ने गरी गर्न पहल भईरहेको सभापति चौरसियाले बताए । केन्द्रले समायोजन बिवाद समाधान र सदस्यता वितरण गर्न पटक पटक दिएको म्याद गुजोरेपनि अन्तिम बैशाख १५ गतेसम्म नसके महाधिबेशनमा सहभागि नगराउने जनाएको बताईएको छ ।
कस्तो छ कांग्रेसको सदस्यता प्रणाली ?
नेपाली कांग्रेसको विधान अनुसार १८ वर्ष उमेर पूरा भएको, प्रचलित कानूनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको र अन्य राजनीतिक दलको सदस्य नभएको वा सदस्यता परित्याग गरेको व्यक्तिले कांग्रेसको साधारण सदस्यता लिनसक्नेछ ।
कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि ‘अन्यथा नभएको खण्डमा’ क्रियाशील सदस्यताको लागि पार्टीको वडा कार्यसमितिको कार्यालयमार्फत आवेदन दिन सक्नेछ । पार्टीको विधान अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ ।