काठमाडौं – बेलायतमा देखिएको कोरोना भाइरस संक्रमणको नयाँ ‘यूके भेरियन्ट’ नेपालमा फैलिँदो क्रममा रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिँदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।
बालबालिकामा कोरोना संक्रमणदर उच्च बृद्धि हुँदै गएको समेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका रहेका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको जानकारी दिए । अस्पतालमा ३ संक्रमित बालबालिका भर्ना गरिएका छन् ।
कोरोना जोखिम बढेपनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको पाइएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलवार प्राप्त रिपोर्टमा कूल संक्रमितमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिका रहेका छन् । बुधवार कूल संक्रमितमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिका रहेका छन् ।
विश्वका विभिन्न देशमा यूके भेरियन्ट फैलिनेक्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १२९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यले भारतमा संक्रमणदर उच्च रहेको भन्दै नेपालमा पनि भयावह स्थिति आउन सक्ने बताए ।
‘संक्रमित संख्या बढ्दै गएको छ, अहिले टेस्ट पोजेटिभ दर पनि बढेको छ,’ उनले भने, ‘परीक्षण दर बढाउन सकिए संक्रमित संख्या बढ्ने छ ।’ कर्माचार्यका अनुसार बेलायती प्रजातिको सर्ने दर ४३–९० प्रतिशतसम्म रहेको छ । संक्रमण समुदायमा फैलिए भयावह अवस्था आउनसक्ने देखिएको छ । बेलायती प्रजातिमा लक्षण देखिने सम्भावना अन्य प्रजातिभन्दा बढी देखिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार बालबालिका नयाँ भेरियन्टको जोखिममा रहेका छन् । यूके भेरियन्ट समुदायमा फैलिरहेको भन्दै परीक्षण गराउन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
नेपालमा ‘डबल म्युटेसन भेरियन्ट’ कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको समेत पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. पौडेलका अनुसार हङकङमा पठाएको नमूना परीक्षणमा ‘डबल म्युटेसन भेरियन्ट’ पुष्टि भएको हो ।
सरकारले नेपालमा नयाँ प्रजातिको भारइस फैलिएको हुनसक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’का लागि नमूना हङकङमा पठाएको थियो । ‘एस जिन नेगेटिभ’ भएका १० नमूनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको छ ।
‘डबल म्युटेसन पुष्टि भएको नमूना ललितपुर जिल्लाको हो,’ डा. पौडेलले भने, ‘यसबाट पनि नेपालमा यूके भेरियन्ट फैलिसकेको पुष्टि हुन्छ ।’
बुधवार नै देशभर ६०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५८० जना पीसीआर र २३ जना एन्टिजेनबाट पोजेटिभ आएको छ ।
बुधवार देशभर ४ हजार २८९ जनाको नमूना परीक्षण पीसीआर विधिबाट र ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ५६ पुगेको छ । देशभरका विभिन्न अस्पतालमा ८० आईसीयू र २५ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।
कूल संक्रमितमध्ये २५४ जना काठमाडौं उपत्यकामा देखिएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा संक्रमण देखिएको छ ।
हालसम्म कूल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना रहेको छ । गत २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ३ हजार ६१ पुगेको छ । देशभर ७९ जना क्वारेन्टीनमा रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।