सिमरा । मुस्लिम समुदायको प्रमूख पर्व रमजान पर्वको आज बिहिबार दोश्रो दिन निराहार ब्रत रोजा बसेर सम्पन्न भएको छ । बैशाख १ देखि शुरु भएको एक महिने रमजमा पर्व मुसलमानहरुको महत्वपुर्ण र निष्ठापुर्वक मनाईने पर्व भएको कलैया निवासी अब्दुल रहिम बताउनु हुन्छ। यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार ब्रत । अर्को दान वा गरिब–दुःखीको सेवा गरेर यो पर्व मनाउने गरिएको रहिमले बताए । पर्वले एकातिर आफ्नो शारीरिक शुद्धिकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित गर्ने गरेको यो पर्व पवित्रता र पूण्यको पर्व रहेको कलैया निवासी अर्का मुस्लिम युवा नेता प्रवेज आलम बताउछन ।
पवित्र महिना भएकाले यो महिनालाई रमजान वा रमदान समेत भन्ने गरिएको छ । इस्लामी क्यालेन्डरको नवौं महिनामा रमजान पर्छ । रमजानको महिन मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरी मनाउने गरिन्छ । मुस्लिम समुदयले यस महिनालाई पवित्र महिना मान्ने गर्छन् ।
दिनभर निराहार
महिनासम्म मनाइने यस पर्वको अवधीमा दिनभर उपवास बस्ने गरिन्छ । सूर्योदयअघि केही खानेकुरा खाएर सुरु गरिने रोजा सूर्योअस्तपछि फलफूल तथा मिठाई खाएर पुरा गरिन्छ । राती सुत्नुअघि कुरान पढ्ने र सुन्ने गरिन्छ ।
खराब बानी छुटाउने
पवित्र महिना भएका कारण रमजानको अवधीमा खराब बानी र आचरण भए अल्लाहले माफ नगर्ने जनविश्वास रही आएको छ । मदिरापान गर्ने, चुरोट सेवन गर्ने, गुट्खा खाने जस्ता कुराहरु यतिबेला निषेध हुन्छ । त्यसैले रमजानलाई यस्ता खराब लतबाट छुटाएर आफुलाई शुद्ध बनाउने पर्व पनि मानिन्छ । आफु पवित्र भइसकेपछि मात्र रोजा बस्न पाइन्छ । गर्भवती, बुढापाका, बालबच्चा, रोगी वा अशक्त बाहेक सबैले रोजा बस्नुपर्ने जन विश्वास रही आएको आलमले बताए ।
पूण्य एवं सेवा भाव
रमजानले सेवाभावप्रति प्रेरित गर्छ । यसबेला आफुभन्दा गरिब, असाहयलाई सहयोग गर्ने, दान दिने जस्ता पूण्यको काम गर्नुपर्छ । यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।