उपाधीका लागि संकटा र एआरए भिड्दै

तराइ संचार
तराइ संचार 450 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा ः विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएशन (एआरए) भिड्दैछन् । दुई टिमबीचको फाईनल भिडन्त सिमरा रंगशालामा शनिवार साझ हुदैछ ।

जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको बिजेता संकटा दोस्रो पटक उपाधी जित्ने दाउमा रहदा पहिलो पटक सहभागिता जनाएको एआरए ईतिहास रच्ने रणनितिमा हुनेछ । एआरए पाहुना टोलीको रुपमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो ।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधीको दावेदारको रुपमा हेरिएको छ । एआरएले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फूटवल क्लबलाई २–१ र आयोजक नव जनजागृति युवा क्लबलाई २–१ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो । संकटाले भने क्वार्टरफाईनलमा विजय युथ क्लबलाई २–१ र सेमिफाईनलमा बिभागिय टिम एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै उपाधी होडमा आफूलाई उभ्याएको हो ।

चालु सिजनमा संकटा र एआरएबीच दुई पटक भिडन्त हुदा दुवै खेलमा संकटाले जित हासिल गरेको थियो । यसअघि चैतमा सम्पन्न आहा रारा गोल्डकपको उपाधी भिडन्तमा पनि यि दुई टिमको भेट भएको थियो । उक्त भिडन्तमा संकटाले टाईब्रेकमा एआरएलाई ४–३ ले स्तब्ध पारेको थियो ।

आहा रारापछि बिराट गोल्डकप पुगेका दुबै टिम एकअर्काविरुद्ध मैदानमा उत्रिए । उक्त खेलमा पनि संकटाले १–० को जित निकाल्यो । यसअघिका दुवै भिडन्तमा जितको नतिजा निकालेको संकटा जीतपुरसिमरा गोल्डकपको फाईनलमा उच्च मनोबलसहित मैदानमा उत्रनेछ । ‘एआर बलिया टिम हो, तर यसअघिका दुई खेलको नतिजाले हाम्रो मनोबल उच्च छ’ संकटाका कप्तान सुभाष गुरुङले भने ‘तेस्रो भिडन्तमा पनि हामी उस्तै नतिजा निकाल्नेमा विश्वस्त छौ ।’

यसअघिका दुई खेलमा चुनौती पस्किएकाले तेस्रो भिडन्तको नजिता भने आफ्नो पक्षमा जाने एआरएका कप्तान डिए स्याल्भियोको भनाई छ । ‘खेलमा हारजित हुन्छ, तर हामीले यसअघि उत्कृष्ट खेल पस्किएका छौ । संकटाले सहज जित हात पारेको छैन्’ स्याल्भियोले भने ‘यो पटक जित्ने रणनितिसहित हामी मैदानमा उत्रनेछौ ।’

फाईलनसम्मको यात्रामा दुई टिमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका दुबै टिमका एक÷एक खेलाडीले उपाधी भिडन्त गुमाउनेछन् । एआरएका ए फ्याब्रिक र संकटाका फोडे फोफना फाईनलमा देखिने छैनन् । यसअघिको दुबै खेलमा दुबै खेलाडीले पहेलो कार्ड पाएकाले उनिहरुले अन्तिम खेल गुमाउने भएका हुन् ।

एआरएलाई पराजित गरे संकटाको जारी सिजनमा यो दोस्रो उपाधी हुनेछ । यसअघि आहारारा गोल्डकपको उपाधी संकटाले जितेको थियो । एआरएको पनि यो दोस्रो उपाधी हुनेछ । एआरएले यसअघि चितवनको विजय स्मृति गोल्डकपको उपाधी जितेको थियो ।

प्रतियोगिताको उपाधी बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल र विधागत उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद प्राप्त गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content