निजगढ । निजगढ नगरपालिकाका जनप्रतिनिधिहरुको मासिक सुविधाहरु वापत पाउने १ महिनाको रकमबाट पेसेन्ट मनिटर खरीद गर्ने भएका छन ।
कोरोना संक्रमितहरुको उपचारको लागि निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको आईसोलेसनमा जनप्रतिनिधिहरुको १ महिनाको सुविधा वापतको रकमबाट ३ थान पेसेन्ट मनिटर खरिद गर्ने सहमति अनुसार काम अघि बढाईएको नगरप्रमुख सुरेश कुमार खनालले बताउनुभयो ।
कोरोना संक्रमित विरामीहरुको भाईटल्स मनिटर गर्ने डिस्प्ले स्क्रीन मनिटर उपलब्ध गराईदिन प्राथमिक स्वास्थ्य केन्द्रले गरेको अनुरोध अनुसार आवश्यक उपकरण खरिद गरेर उपलब्ध गराउन लागिएको नगरप्रमुख खनालले बताउनुभयो ।
सो मनिटरले बिरामीको मुटुको चाल, रक्तचाप, श्वाशप्रश्वाशको अवस्था सजिलै थाहा पाउन सकिने भएकाले कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रको लागि नगरपालिकाको विपद व्यवस्थापन समितिले २ थान जेनेरेटर समेत खरिद गरेर उपलब्ध गराईने नगरप्रमुख खनालले बताउनुभयो ।