गुरुप्रसाद गौतम / नवराज चौलगाई
निजगढ नगरपालिकाको चार वडाको भवन निर्माण शुरु
निजगढ । निजगढ नगरपालिकाको सबै वडाहरुको सुबिधा सम्पन्न भवन आफनै कार्यकालमा सक्ने लक्ष्यका साथ निजगढ नगरपालिका अघि बढेको नगरप्रमुख सुरेश खनालले बताउनु भएको छ । शुक्रबार वडा कार्यालयहरुको भवन निर्माण शिलन्यास गर्दै नगरप्रमुख खनालले सो कुरा बताउनु भएको हो । नगरपालिकाले यसबर्ष कै योजनाबाट वडा नम्बर २, ३, १२ र १३ मा आफ्नै वडा कार्यालय भवन निर्माण गर्न शुरु गरेको हो ।
भरतगंज सिंगौलस्थित वडा नम्बर २ र ३ वडा कार्यालय भवनको शिलान्याश सम्पन्न भएको छ । वडा कार्यालयको शिलान्याश नगर प्रमुख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले गर्नुभएको हो । वडा कार्यालयको आफ्नै भवन बनाई वडाबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउंदै लाने योजना अनुरुप वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेको नगरप्रमुख खनालले बताउनुभयो । यसबर्ष चार वडाको निर्माण शुरु गरिएको उहाँले बताउनु भयो ।
उपप्रमुख लिलादेवी लामिछाने खनालले शिल्यास पछि वडा कार्यालयहरु भाडामा सञ्चालन हुदै आउदा सेवाग्राहीलाई समेत समस्या हुदै आएकोमा भवन निमार्णले सेवाग्राही र वडाको समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो ।
भुकम्परहित कोरियन प्री फ्याब प्रविधि मार्फत वडा कार्यालयको भवन निर्माण गर्न लागिएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले बताउनुभयो । एक महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखीएको भवन निर्माणको लागि नगरपालिकाले प्रति वडालाई ३० लाख रुपैंया विनियोजन गरेको नगरपालिकाका सुचना अधिकृत रविन घिमिरेले बताउनुभयो ।
मिटिङ हल सहित ६ वटा कोठा रहने उक्त कार्यालय भवनहरू भूकम्प प्रतिरोधी अत्याधुनिक प्रविधिको प्रिफ्याब्रिक्टेड संरचनामा निर्माण गरिनेछ। शनिबार वडा नम्बर १२ र १३ को वडा कार्यालय भवन शिलान्याश गर्ने कार्यक्रम रहेको घिमिरेले बताउनुभयो ।
शिलन्यास कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष केशव ढोडारी र वडा नं. ३ का अध्यक्ष जीत बहादुर तामाङ लगायत कर्मचारी स्थानीयको उपस्थिति रहेको थियो ।