बालगंगा खोलामा नियम विपरित दोहनमा नगर मौन, प्रशासनको अनुगमन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 822 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । जीतपुरसिमरा उपमहानगरपालिकालाई खोलाजन्य पदार्थ उत्खनन तथा संकलन गर्न लगाएको ठेक्काका ठेकदारले नियम विपरित दोहन मात्र गरेपनि नगरपालिकाकले अनुगमन गर्न र गरेको अनुगमनको प्रतिबेदन दिन समेत नसकेपछि बालगंगा खोलामा जिल्ला प्रशासन कार्यालय बाराले सोमबार अनुगमन गरेको छ ।

पछिल्लो पटक मापदण्ड विपरित चरम दोहन गरेको समाचारहरु प्रकाशित प्रशारित हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भई प्रशासनकै अगुवाईमा सर्वपक्षिय अनुगमन भएको हो ।

अनुगमनमा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद, ईलाका प्रहरी कार्यालय, सिमराका प्रमुख दिपक श्रेष्ठ र जीतपुरसिमरा उपमहानगरपालिकाका दुई कर्मचारी बलराम खड्का र पुर्ण तिवारी रहेका थिए ।

पत्र पत्रिका र नगरको बारेमा समचारहरु आईरहेपनि सरोकारवाला निकाय जितपुरसिमराका जनप्रतिनिधिहरु भने अनुगमनमा गएका छैनन । राजस्व र प्रशासनका कर्मचारी पठाई अनुगमनका नाममा झारा टार्ने काम गर्ने गरेका छन् । नीतिगत निर्णय गर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख नै अनुगमनमा जादैनन् ।

अनुगमन पश्चात ईलाका प्रशासन कार्यालय, बाराका प्रमुख लक्ष्मण ढकालका अनुसार बालगंगा खोलामा तोकिएको परिणाम भन्दा बढि उत्खनन् गरेको पाईएको बताउनु भएको छ । नगरले ठेक्का लगाएको तीन वटै खोलामा सम्झौतामा १ मिटर गहिराई बनाई उत्खनन् गर्न पाउने भनिएता पनि ४ मिटर गहिराईसम्म उत्खनन् भएको र खोलाका किनारबाट दुवै तर्फ छोड्नुपर्ने भाग समेत उत्खनन् भएको भेटिएको छ र सोही अनुरुपको प्रतिवेदन आजै जिल्ला प्रशासन कार्यालय, बारामा पठाईएको ढकालले बताउनु भयो ।


उपमहानगरले खोलालाई च्यानालाईज गर्न आवश्यकता अनुसार एउटा एक्साभेक्टर प्रयोग गर्न सक्ने वातावरण परीक्षण मूल्याङ्कनमा उल्लेख भए पनि दुईवटा एक्साभेक्टरले उत्खनन् गरिरहेको डिभिजन वन प्रमुख मञ्जुर अहमदले बताउनु भयो । अनुगमनमा गएका मञ्जुरले भने, ‘अनुगमनमा गईयो, ठूला ठूला खाल्डा हेरियो, दुईवटा मेशिन चलेकै थिए, अरु केही गर्न सकिदैन, हेरेर फर्कियौं’ । जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ । गतल गर्नेलाई कारवाही हुन्छ भन्नेमा आफु आशावादी रहेको मञ्जुरले बताए । ‘जिल्ला प्रशासनसँग अन्तिम अधिकार रहने हुँदा सम्वन्धित स्थानीय तहले कारवाही गर्न नसके जिल्ला प्रशासनले कारवाही गर्न सक्ने मञ्जुरले बताउनु भयो ।


जितपुर–सिमरा उपमहानगरपालिकाका मेयरको ठाडो आदेशानुसार दुई वटा एक्साभेटर मेसिन प्रयोग गर्न ठेकेदारलाई पत्र नै दिएको नगरपालिकाका राजस्व भाटका प्रमुख पुर्ण तिवारीले बताउनु भयो । खोलाको सतहबाट बढीमा तीन फिटसम्म गहिराइ बनाएर गिटी–बालुवा निकाल्न मिल्ने वातावरणीय प्रारम्भिक परीक्षणले दिएको भएपनि ठेकेदारले एक्साभेटरको प्रयोग गरी २० फिट सम्मको गहिराइबाट गिटी–बालुवा निकालेर कानुनको धज्जी उडाएपनि नियमन गर्ने निकाय नगरपालिका मौन बस्दै आएको छ ।

मासिक एक लाख २६ हजार तलब भत्ता दिएर ६ जना कर्मचारी राखेपनि उनीहरुले स्टक र नियम बिपरित भएको उत्खनन रोक्न कुनै पहल नगरेको आरोप स्थानीयको छ । तीन फिटको गहिराइ बनाउँदा समेत खोलाको धार मिलाएर पुर्नु पर्ने प्रावधान वातावरणीय प्रारम्भिक परीक्षणले दिएको छ ।


जितपुर–सिमरा उपमहानगरपालिकाका राजस्व विभाग प्रमुख पुर्ण तिवारीले भने प्रमुखहरुकै आदेशमा दुवै मेसिन प्रयोग गर्न दिएको हो । ‘हामीले दुवै मेसिन प्रयोग गर्न भनेर पत्र नै दिएका छौ’, तिवारीले भने । ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ६ को उपदफा (३) अनुसार, वन क्षेत्रको ढुंगा, गिट्टी, वालुवा जस्ता साधारण निर्माणमुखी पदार्थको संकलन, उत्खननका लागि मेशिनरी औजार प्रयोग गर्दा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित शर्त र मापदण्ड भित्र रही गर्नु पर्नेछ’, भनेर उल्लेख गरेको छ ।

खोला “च्यानलाइज” गर्ने प्रयोजनका लागि मात्र मेशिन औजार प्रयोग गरी उत्खननको कार्य गर्न पाईने छ । अन्यथा मेसिनको प्रयोग गर्न नपाईने भएपनि नगरले उत्खननमा दुई मेशिनरी औजार प्रयोगका लागि अनुमति दिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content