निजगढ नगरपालिकाआठौ नगरसभा सम्पन्न खानेपानीमा बिशेष छुट, १ अर्व १ करोड बढीको बजेट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 929 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी १० हजार लिटरसम्म खानेपानी उपभोग गरे बापत न्युनतम शुल्क तिरे हुने गरी आगामी आर्थिक वर्षदेखी छुट दिने भएको छ ।


जनतालाई स्वच्छ खानेपानी प्रदान गर्दै न्युनतम शुल्कमा उपलब्ध गराउने स्थानीय पालिकाको निर्णयले आम जनतामा खुशी थपेको स्थानीयहरुले बताएका छन् । यस अघि खानेपानी उपभोक्ता समिति निजगढका अध्यक्ष समेत भई सकेका नगरप्रमुख खनालले जनताको समस्या र चाहनालाई त्यती खेरनै लागु गर्न खोजे पनि नसकेको भएपनि अहिले नगरप्रमुख भएर १० हजार लिटरसम्म खानेपानी उपयोग गरेबापतको न्युनतम शुल्कमा आगामी आर्थिक वर्षदेखी छुट दिइने कार्यक्रम ल्याउदा सबैको सहयोग पाएको खनालले बताउनु भएको छ ।


त्यसैगरी नगरपालिका भित्र रहेका तर नागरिकता नभएर सामाजिक सुरक्षा भत्ता पाउन नसकेका ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई नगरको स्रोतबाट सामाजिक सुरक्षा भत्ता खुवाउने भएको छ ।

नगरपालिकाको आज सम्पन्न आठौ नगरसभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सो घोषणा गरिएको हो । नगरपालिकाका लागि १ अर्व १ करोड ९४ लाख ७९ हजार ८ सय रुपैंयाको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को तुलनामा नगरपालिकाकले १३ करोड बढाएर बजेट ल्याएको हो ।

‘हाम्रो नगर हाम्रो शान, स्मार्टसिटी निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नगरप्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा बिहिबार आयोजित आठौ नगरसभा निति तथा कार्यक्रम बजेट बक्तब्य सार्बजनिक गर्दै उपप्रमुख लिलादेवी लामिछाने खनालले आगामी आर्थिक वर्षको सो बजेट पेश गर्नुभएको हो ।

नगरपालिकाले बजेटको सबैभन्दा ठूलो हिस्सा ३७ करोड ४४ लाख ७२ हजार पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकासका लागि २९ करोड ५१ लाख ५३ हजार ८ सय, आर्थिक विकासमा १४ करोड ७५ लाख ८० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १४ करोड ७२ लाख ५० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि ५ करोड ५० लाख २४ हजार विनियोजन गरिएको छ ।

प्रस्तुत गरीएको नीति तथा कार्यक्रममा नगरपालिकाको आर्थिक विकास तथा गरीबी निवारण, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत, साधन र सीपको अधिकतम उपयोग हुने, लैंगिक समानता र सामाजीक समावेशीकरण अभिवृद्धि गर्ने तथा कोरोना नियन्त्रण र उपचारमा योगदान पुर्याउने खालका नीति तथा कार्यक्रम भएको नगरप्रमुख सुरेश कुमार खनालले बताउनुभयो ।

नीति तथा कार्यक्रमले नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुको सुदृढिकरण गरी गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा प्रदान, औध्योगिक क्षेत्रको विकास, भौतिक पूर्वाधारको विकास तथा कृषि यान्त्रीकिकरणको व्यापक प्रयोग गर्दै व्यवसायिक कृषि खेतीमा जोड दिएको नगरप्रमुख खनालले बताउनु भयो । नगरका पर्यटकीय एवंम धार्मीक क्षेत्रको प्रवर्दधन गर्दै नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति लिईएकोछ ।

नगरको राष्ट्रीय राजमार्ग क्षेत्रमा थप सिसिटिभी जडान गरी अपराधिक घटनाको न्यूनीकरण गर्दै नगरलाई सुरक्षित बनाइने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उपप्रमुख लिलादेवी लामिछाने खनालले जनाउनुभयो । अधिवेशनले विनियोजन विधेक र अर्थ विधेक पारित गरेको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई सभा सदस्य रामजीप्रसाद बजगाई, टेकबहादुर लामा, केशव प्रसाद ढोडारी, ज्ञानबहादुर गोलेले  शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै सभालाई सम्पूर्ण नगर सभा सदस्यकोतर्फबाट थपप्रसाद गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थित रहेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content