सिमरा . जीतपुरसिमरा उपमहानगरपालिकाले असार १० गतेसम्म नगरसभा गर्नुपर्ने भएपनि नगरसभा नगरेर अगाडिको मिति राखेर नयाँ कार्यआदेशलगायतको अनियमित कामकाज हुन थालेपछि बहुमत वडाअध्यक्ष सहित नगरसभाका सदस्यहरुद्धारा नगरसभाको माग गरेका छन् ।
नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी असार २० गतेसम्म पारित गर्नुपर्ने कानुनी व्यवस्था भएपनि असारको १५ गतेसम्म नगरसभा उद्घाटन समेत नभएपछि नगरका जनप्रतिनिधिहरूले नगरसभा बोलाउन माग गर्दै नगरप्रमुख, उपप्रमुख समक्ष र प्रशासकीय प्रमुखको समेत उपस्थितिमा निवेदन बुझाएका हुन ।
जनप्रतिनिधिहरूले जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेललाई निवेदन पत्र पेस गरेका हुन् । उनीहरूले नगरसभा गर्न पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसेको बताएका छन् ।
नगरसभाको माग गर्दै जीतपुरसिमराका वडाध्यक्षहरु हिराबहादुर गुरुङ्ग, तिलक श्रेष्ठ, जगन्नाथ घिमिरे, भोजराज बहादुर खत्री (ईश्वर), मोहित चौधरी, कैयमुदिन अन्सारी, रामशरण बतौैला, रसुलमियाँ अन्सारी लगायतका वडाध्यक्ष सहित बहुमत नगरसभा सदस्यहरु हस्ताक्षर सहित नगरसभाको माग गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले काम कारवाही पारदर्शी नभएको र असार १५ सम्म ब्याक डेटमा कार्यआदेश दिदै अनियमितता गरेको आरोप नगरमा रहेका पाँच राजनैतिक दलले मंगलबार विज्ञप्तीनै निकालेर ध्यानाकर्षण गराएका हुन ।
ध्यानाकर्षण गराउनेहरुमा नेपाली काँग्रेसका नगर सभापति श्यामवावु गुप्ता, नेकपा एमाले(माधवपक्ष)का कृष्ण खनाल, नेकपा माओवादीका नगर अध्यक्ष रामशरण वर्तौला, जनता समाजवादी पार्टीका प्रतिनिधि सोहन शर्मा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कर्ण थापालले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्ति निकालेका हुन ।
नगरभित्रको आन्तरिक श्रोतको व्यवस्थापन, गतवर्षको कोभिड अस्पतालको हिसावकिताव सार्वजनिक नभएको, शिपमुलक तालिममा व्यापक अनियमितता भएको र ब्याक डेटमा कार्यआदेश दिने लगायतका काम गरेकाले अनियमितताको आशंका भएको बताएका छन् । उनीहरुले विज्ञप्तीमा हालसम्म नगरसभा गर्न नसकेको भन्दै अभिलम्ब नगरसभा आयोजना गर्न माग समेत गरेको छ ।