काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो पटक महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई पनि मासिक तलब दिने गरी केन्द्रीय सम्झौता गरेको छ। क्यानको केन्द्रीय कार्य समितिको चितवनमा बुधवार बसेको बैठकले महिला खेलाडीहरूबारे पहिलो पटक केन्द्रीय सम्झौता गर्यो र खेलाडीहरूलाई तीन श्रेणीमा वर्गीकरण गर्यो।
पुरुष खेलाडीहरूको पनि वर्गीकरणमा परिवर्तन भयो। तर दुवै वर्गीकरणमा व्यापक त्रुटि भएको भन्दै खेलाडीहरूले असन्तोष व्यक्त गरेका छन्। क्यान गठन गरिएपछिको यो अग्रसरता प्रशंसनीय हुनुपर्ने थियो। तर त्यसको विपरीत वर्गीकरणमा भएको ‘लापर्बाहही’ का कारण आलोचनाको सिकार बनेको छ।
महिलातर्फ राष्ट्रिय टीमबाट कहिल्यै नखेलेका खेलाडीहरू वर्गीकरणमा परेको तर नियमित खेल्दै आएका खेलाडीहरू बाहिर परेको गुनासो छ भने पुरुषतर्फ पनि वर्गीकरण न्यायोचित नभएको भनिएको छ। उक्त ‘त्रुटि’ ले छनोट समितिको क्षमतामा नै प्रश्न उठेको देखिन्छ। क्यानले बनाएको खेलाडीहरूको ग्रेड निर्धारण र २०२० को तीनसदस्यीय पारिश्रमिक समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्यद्वय अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य छन्।
महिला तर्फको ‘त्रुटि’
क्यानले १९ महिला खेलाडीहरूलाई सम्झौतामा समेटेको छ। जसमा क वर्गमा पर्ने खेलाडीले मासिक १५ हजार रुपैयाँ , ख वर्गमा पर्नेले १२ हजार रुपैयाँ तथा ग वर्गमा पर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। ती वर्गलाई ए, बी र सी श्रेणी पनि भनिएको छ। वर्गीकरणमा ‘ए’ श्रेणीमा ५ जना, ‘बी’ श्रेणीमा ८ जना र ‘सी’ श्रेणीमा ६ गरी १९ खेलाडीहरू छन्।
वर्गीकरणमा राष्ट्रिय टोलीबाट कहिले पनि नखेलेका खेलाडीहरू कविता जोशीलाई बी र अनुराधा चौधरीलाई सी श्रेणीमा समावेश गरिएको छ। तर राष्ट्रिय प्रतियोगितामा बारम्बार राम्रो खेल्दै आएका ममता चौधरी, सरस्वती चौधरी र सुमन खतिवडा भने वर्गीकरणमा अटाएका छैनन्।
खेलाडीहरूको गुनासो छः “दुई वर्षदेखि नखेलेकी शोभा आले र बिन्दु रावल बी श्रेणीमा परेका छन् तर पहिलो रोजाइमा पर्ने गरेकी कविता कुँवर र राष्ट्रिय टोलीका नियमित सदस्य सोनु खड्का भने सी मा मात्र अटाएका छन्।”
महिला वर्गीकरण
‘ए’ श्रेणी: रुविना क्षेत्री, सीता रानामगर, नेरी थापा, इन्दु बर्मा, करुणा भण्डारी
‘बी’ श्रेणी: ऋतु कजौनिया, सरिता मगर, काजल श्रेष्ठ, ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी
‘सी’ श्रेणी: सोनु खड्का, अनुराधा चौधरी, कविता कुँवर, डोली भट्ट, अञ्जली चन्द, शोभा आले
पुरुषतर्फको त्रुटि
पुरुषतर्फ ज्यादै आलोचना हुनुको कारण उत्कृष्ट बलर ललितनारायण राजवंशी वर्गीकरणमा राखिएका १८ खेलाडी भित्र नसमेटिनु हो। अनि पछिल्लो समय सशक्त प्रदर्शन गर्दै आएका बलिङ अलराउन्डर सोमपाल कामी लाई बी श्रेणीमा राखेकोमा धेरैले आश्चर्य प्रकट गरेका छन्। विगतमा बी मा राखिएका वरिष्ठ स्पिनर वसन्त रेग्मीलाई ए श्रेणीमा राखिएकोमा आलोचना गर्नेहरू भनिरहेका छन्, “उनलाई त्यतिबेला बी श्रेणीमा झार्नु हुँदैनथ्यो। त्यतिबेला गलत भयो। अहिले भने उनी ‘ए’ का हकदार थिएनन्।” अठार पुरुष खेलाडीमा ए मा ८ खेलाडी, बी मा ४ र सी श्रेणीमा ६ खेलाडी छन्। ए, बी र सी श्रेणीमा परेका खेलाडीहरूले मासिक क्रमश: ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पाउनेछन्।
पुरुष वर्गीकरण
‘ए’ श्रेणी: ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी
‘बी’ श्रेणीस: सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सर्राफ
‘सी’ श्रेणीस: अभिनाश बोहोरा, रोहित पौडेल, सुवास खकुरेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी
सच्चिएला त निर्णय ?
नाम नबताउने सर्तमा समितिका सदस्यले थुप्रै पक्षसँग छलफल गरेर खेलाडीहरूको वर्गीकरण गरिएको बताएका छन्। तीनसदस्यीय सो टोलीले गत वर्ष माघ १० गते नै वर्गीकरणको सूची केन्द्रीय समितिमा पेस गरेको थियो। त्यस्तै समितिले २४ खेलाडीहरूको नाम केन्द्रीय कार्यसमितिमा पठाएको तर बजेट जोगाउने धुनमा खेलाडीको सङ्ख्या काटिएकोले समस्या भएको हुनसक्ने बताएको छ। नेपाल क्रिकेट सङ्घका सचिव अशोकनाथ प्याकुर्यालले भने काठमाण्डूमा पुगेर समितिको प्रतिवेदन अध्ययन गर्ने बीबीसीलाई बताए। उनका अनुसार बैठकमा समितिको प्रतिवेदन अध्ययन नगरी सीधै अनुमोदन गरिएको हो।
उनी भन्छन्, “अहिले केही नामहरूमा प्रश्न आइरहेको छ। हामी त्यसमा पुनर्विचार गर्छौँ भनेर अहिले नै भन्दैनौँ, काठमाण्डू पुगेर अध्ययन गर्छौँ र उचित निर्णय लिनेछौँ।” सचिव प्याकुर्यालको भनाइ हेर्दा यदि गल्ती हुन गएको हो भने सच्याउन सकिने सङ्केत देखिन्छ। तर दर्शकहरूको निकै चासो रहेको क्रिकेट खेलमा खेलाडीहरूको प्रदर्शनको सूक्ष्म अध्ययन गरेर वर्गीकरण गर्नुपर्नेमा क्यान गम्भीर हुन नसकेको भने स्पष्ट देखिन्छ। यसले खेलाडीहरूको मनोबलमा असर पर्न गएको बताइन्छ।
(बीबीसी बाट साभार गरिएको)