निजगढ । जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ आज परीक्षण हुने भएको छ । पटक पटक रेल सञ्चालन गर्ने तयारी हुदै आएर स्थगित हुदै आएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।
भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट रेल जनकपुर आइपुग्ने र जनकपुरबाट सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा पुनः जयनगर फर्किने गरी जाच गर्न लागिएको बताईएको छ ।
परीक्षणको क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा संचालनको लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका लागि सूचना समेत सार्वजनिक गरिएको छ ।
सरकारले जिटुजी गभर्मेन्ट टू गभर्मेन्ट प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको भएपनि यत्तिकै थन्किएर बसेको छ ।