प्रकाश लम्साल
बारा । निषेधाज्ञालाई रकमम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएक पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु भएको छ ।
प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादवसहित कार्यरत सबै ११ प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको छ भने उक्त स्थानमा ११ नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश ट्राफिक कार्यालय पथलैयामा केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान तथा आवश्यक विभागीय कारबाही गर्ने भएको छ । राजमार्गको व्यस्त चोक पथलैयामै दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको जाँच हुने गरेको छ ।
अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगाएतका संवेदनशील विषयको जाँचको जिम्मेवारी छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको समाचार प्रकाशित भएपछि प्रहरीले दुवै कार्यालयमाथि छानबिन सुरु गरेको हो ।
निषेधाज्ञाको समयमा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई हजार रुपैयाँसम्म लिने गरेका थिए । दुवै चेक पोस्टमा चर्को शुल्क लिएपछि त्यसको भुक्तानी यातायात व्यवायीले सर्वसाधारणबाटै असुल्दा यात्रुले चर्को भाडादरमा यात्रा गर्नुपरेको थियो । सा. ईमेज खबर