निजगढ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बारा लगायत देश भरीका मुस्लिम धर्मावलम्बीहरुले बकर–इद हर्ष र उत्साहका आज मनाईरहेका छन । बलिदानीको पर्वका रुपमा मनाउने यो पर्वलाई मुस्लिम धर्मावलम्बीले विशेष महत्वका साथ हेर्ने गरेका छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।
मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ।
बकर–इदमा जनावरलाई कुर्वानी अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल जोहा बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताएकी छन्।
स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन प्रधानमन्त्री देउवाको अनुरोध
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्।
महान् पर्व इद उल अज्हाको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।
कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन्।
मनाउने तरिका
आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी बलिदानको सम्झना स्वरूप मनाइने पर्व हो। यही दिन देखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ ।
बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने परम्परा छ । नेपालमा भने गाइको वलि दिने गरिएको छैन । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ । मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको जन विश्वास छ