निजगढ । २०७४ माघको मधेस आन्दोलनको क्रममा चिकित्सकको निजी कार जलाएको आरोपमा जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कलैया निवासी प्रमोद गुप्ता र सिंह फेटा गाउँपालिका बडकी फुलवरिया निवासी स्थानीय नेता अरुण सिंह जेल चलान भएका छन् । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएका नेता गुप्ता र सिहंलाई अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो । अदालतको आदेशपछि बिहिबारनै दुवै नेतालाई बिरगन्ज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
२०७४ माघको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि भरत चोकमा निधन भएका हिफाजत मियाँको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै अस्पतालमा प्रदर्शन गर्ने क्रममा आन्दोलनकारीहरुले चिकित्सकको निजी कार जलाएका थिए ।
सप्तरी राजविराज नगरपालिका ३ घर भई कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेड शैलेश झाको जाहेरीले प्रहरीले सभासद गुप्ता र सिंहको नेतृत्वमा गाडी जलाएको भन्दै उनीहरुमाथि मुद्दा चलाएको थियो । त्यसपछि अदालतले एकतर्फी रुपमा दुबैलाई जनही ६–६ महिना कैद र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने गरी जरिवाना गर्दै २०७४ माघ २५ मा कैद सजायको फैसला गरेको थियो ।
गुप्ताले राजनीतिक मुद्दा भएपनि अदालतले एकतर्फीरुपमा मुद्या चलाएकाले खारेज गर्न गराउन पार्टीका अध्यक्ष उपेन्द्र यादव समक्ष पटक–पटक आग्रह गर्दै आएका थिए । गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संबिधान सभाका सुभासद थिए ।