सिमरा। बारा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडिबाट हात्तीको दाह्रा सहित कारोबारमा सम्लग्न तीन जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ५० प १२२७ न।को कालो रातो रङको २२० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटरसाइकलको पछाडी सवार सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४४० ग्राम वजन भएको हात्तीको दारा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
हात्तीको दाह्रासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीका लागि पर्सा राष्टिय निकुञ्ज कार्यालयमा पठाइएको छ ।