निजगढ । अघोषित रुपमा पटक पटक गरिएको लोडसेडिङ्गका कारण निजगढ क्षेत्रका स्थानीय आक्रान्त बनेका छन् । निजगढ नगरपालिकाले भौतिक उपस्थितीमा पठनपाठन बन्द गरी अनलाईनबाट पठनपाठन भईरहेको समयमा बिगत केहि दिनदेखि दिनको २०औ पटक लामो समय बिधुत अबरोध हुदै आएको छ । बिधुत अबरोधका कारण बिद्यार्थिहरुको पठनपाठन ठप्प बनेको छ ।
नेपाल विधुत प्राधिकरण निजगढले समस्याको पहिचान समयमै नगरेको कारण यस्तो समस्या आएको स्थानीयले बताएका छन् । कर्मचारीको लापर्वाहीका कारण र समयमै समस्याको समाधानका लागि पहल नहुदा बिधुत अबरोध हुदै आएको स्थानीयले आरोप लगाएका छन् ।
निजगढबाट नौ किलो पश्चिम पिलुवामा प्राधिकरणको स्टेशन भएपनि २१ किलो पुर्व चपुरबाट बिधुत आफुर्ति हुदै आएको कारण पनि धेरै समस्या हुदै आएको उद्योगीहरुले बताएका छन् ।
नेपाल विधुत प्राधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख पुष्पेश्वर साहले निजगढको समस्याका कारण मात्र नभई निजगढबाट २१ किलो चपुर सम्म लामो जङगल क्षेत्रमा पटक पटक समस्या आउने गरेको कारण बिजुली अबरोध हुदै आएको बताउनु भयो । हामीले बिधुत नियमित गर्न हरसम्भब प्रयास रहेको समेत बताउनु भयो । पिलुवाबाट बिधुत सप्लाई गर्न माग भई पत्राचार भएपनि ट्रान्सफरर्मर नभएका कारण तार तान्न नसकेको उनले बताए । पिलुवाबाट बिधुत बिस्तार भए धेरै हद सम्म समस्या समाधान हुने उहाँले बताउनु भयो ।
पटक पटक लामो समय लोडसेडिङ भएपछि नगर उद्योग वाणिज्य संघले बिधुत कार्यालयमै डेलिगेशन गएर ज्ञापनपत्र दिदै अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले निजगढमा केही दिनयता हुदै आएको अघोषित लोडसेडिङ्ग विरुद्ध विद्युत प्राधिकरण उपवितरण केन्द्र निजगढमा ज्ञापन पत्र बुझाउदै लोडसेडिङ्गको अन्त्य नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
अध्यक्ष नेपालको नेतृत्वमा गएको संघको टोलीले उपवितरण केन्द्रका प्रमुख साहलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष नेपाल, ज्ञानेन्द्र चौलागाई, दिपेन्द्र श्रेष्ठ, प्रभात सिग्देल सहितको टोली कार्यालयमा पुगेको थियो । संघका अध्यक्ष नेपालव्दारा हस्ताक्षरित ज्ञापन पत्रमा केही दिनयता बढदै गएको अघोषित लोडसेडिङ्गप्रति ध्यानाकर्षण भएको र यसबाट निजगढ क्षेत्रका व्यापारी, व्यवसायी र सर्वसाधारणसमेत अतिप्रभावित बनेको बताइएको छ ।
संघले जथाभाबी बिजुली काटिदा विद्यार्थी, बिरामी र किसानसमेत मार्कामा परेको र यसको कारण पत्ता लगाएर न्युनीकरणकोलागि तत्काल पहल गर्नुपर्ने अन्यथा अघोषित लोडसेसडिङ्ग अन्त्यको लागि प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रिन संघ बाध्य हुने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्राधिकरणका कर्मचारीहरुको ढिलासुस्ती र समस्याको समाधान तर्फ पहल नहुदा पटक पटक अघोषित लोडसेडिङ हुदै आएको छ ।