सिमरा । बाराको सिमराबाट आजदेखि पोखरा उडान शुरु भएको छ । ‘ दिगो पर्यटनका लागि हवाई कनेक्टीभिटी’ भन्ने मुल नाराकोसाथ सिमराबाट पोखरा सिधा पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्माले गर्नु भएको हो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बुद्ध एयरको जहाज लिएर सिमरा आएका पर्यटन मन्त्री शर्माले उद्धघाटन गर्दै औधोगिक क्षेत्र र भारतीय पर्यटकहरुका लागि सिमराबाट पोखरा सिधा उडानले पुर्व क्षेत्रबाट पर्यटकिय नगरी पोखरा जाने आउनेहरुका लागि सहज भएको बताए ।
बुद्ध एयरको जहाजबाट पहिलो पटक १८ सिटे क्षमता भएको जहाज पोखराबाट सिमरा आएको थियो । सिमरा विमानस्थलमा प्रदेश नं. २ का पर्यटन मन्त्री राम नरेश राय सहित यस क्षेत्रका उद्योग पर्यटनर सामाजिक क्षेत्रका स्थानीयको उपस्थिति रहेको थियो ।
शुरुमा हप्तामा दुई पटक आईतबार र बुधबार दिउसो १ः१५ बजे उडान भर्ने तालिका बुद्ध एयरले जनाएको छ । मागको आधार बढे उडान बढाउन सकिने बुद्ध एयरले जनाएको छ ।
सिमरा पोखराको टिकट दर ४ हजार सात सय ७० , पाचँ हजार दूई सय सत्तरी र सात हजार एक सय सत्तरी गरी तिन प्रकारका टिकट दर कायम गरिएको बुद्ध एयरले जनाएको छ । प्रदेश नं. २ का पर्यटन मन्त्री रायले पर्यटकिय पोखरासगै अन्य प्रदेशमा पनि हवाई उडान जोड्ने पहल भईरहेको बताएका छन् ।