निजगढ । जिल्ला समन्वय समिति बाराको निमन्त्रणामा राष्ट्रपती तराई मधेस चुरे संरक्षण तथा विकास समितिको टोलीले निजगढ नगरपालिकाले प्रस्ताव गरेको नदीजन्य पदार्थ उत्खनन क्षेत्रको सोमबार निरीक्षण र अनुगमन गरेको छ ।
निजगढ नगरपालिकाले र डिभिजन वन कार्यालयबिच मतभेद भएपछि समाधानका लागि जिल्ला समन्वय समिति बाराले राष्ट्रपती तराई मधेस चुरे संरक्षण तथा विकास समितिको रायका आधारमा अघि बढने गरी बोलाईएको टोलीका भुगर्भविद प्रेमनाथ पौडेलसहितको टोलीले निरिक्षण गरेको हो ।
निजगढ नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी ठेक्का लगाउने तयारी गरेपछि उत्पन्न विवादको निरुपण गर्न आएको टोलीले नगरपालिका वडा नम्बर ३ को बगरे, ४ को बकैया, वडा नम्बर १२ को भक्तलाल, वडा नम्बर १ को धन्सार र १३ को शक्ति खोलामा प्रस्तावित उत्खनन क्षेत्रको निरक्षण तथा अनुगमन गरेको हो ।
नगरपालिकाले बकैया, धन्सारसहित यो वर्ष बगरे, लाल, शक्ति र भक्तलाल समेत वन र चुरे क्षेत्रमा पर्ने ५ वटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि ठेक्का लगाउन लागेको भन्दै भन्दै डिभिजन वन कार्यालय बाराले चुरे क्षेत्रमा पर्ने नदीहरुमा कानुन विपरित आईईई प्रतिवेदन स्वीकृत गरेर ठेक्का लगाउन खोजेको भन्दै जिल्ला समन्वय समिति बाराको बैठकमा विरोध गरेका थिए ।
जिल्ला समन्वय समितिको बैठकले चुरे र वन क्षेत्रसंग समन्वय गरेर मात्रै ठेक्का लगाउने र त्यसको लागि चुरेको टोली बोलाउने निर्णय गरेपछि विज्ञसहितको टोलीले उत्खनन क्षेत्रको अनुगमन गरेको हो ।
भुगर्भविद पौडेलले प्रस्तावित उत्खनन क्षेत्रको निरीक्षण र अवलोकन गरियो, अब तथ्याङ्क विश्लेषण गरेर राय दिने काम गरिने छ । नगरपालिकाले तयार पारेको आईईई रिपोर्ट र त्यसमा उल्लेख विवरण तथा कार्यालयको तथ्याङ्कबीच तुलनात्मक अध्ययन गरेर रिपोर्ट तयार पारिने र सोही अनुसार नगरपालिकाले प्रस्ताव गरेको क्षेत्रबाट उत्खनन गर्न मिल्ने वा नमिल्ने निक्र्यौल हुने बताउनुभयो ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी बलका गणपती रबिन कर्णजित, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत हरीशंकर साह र पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।
टोलीमा निजगढ नगरपालिकाका तर्फबाट प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेबी लामिछाने र प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की सहभागी थिए।
निरिक्षण पश्चात प्रमुख जिल्ला अधिकारी पौडेलले भने नगरपालिकाले प्रस्ताव गरेको अधिकांश क्षेत्र विपदको दृष्टिले जोखीमपूर्ण देखिएकोले उत्खनन आवश्यक भएको बताउनुभएको छ । ‘केही प्वाइन्ट बाहेक अधिकांश स्थानमा उत्खनन आवश्यक छ । प्रकृया पुरा गरेर त्यस्ता क्षेत्रबाट नगरपालिका आफैले पनि उत्खनन गर्न सक्ने छ ।’
नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया, धन्सार सहित यो वर्ष बगरे, लाल, शक्ति र भक्तलासमेत गरी वन र चुरे क्षेत्रमा पर्ने ५ खोलाबाट १ करोड ६१ लाख १ हजार ९ सय ६९ घनफिट गिटी, बालुवा र ढुङ्गा उत्खनन र निकासीकोलागि भ्याट बाहेक १२ करोड ८८ लाख १५ हजार ७ सय ५२ रुपैयामा ठेक्काको बोलपत्र आह्वान गरेको छ ।
चुरेसंग समन्वय गर्न भनेर नगरपालिकाले हाल ठेक्काको बोलपत्र पेस गर्ने समयसिमा २ साताको लागि थप गरेको छ । इबिड मार्फत बोलपत्र पेस गर्न साउन १३ गते पहिलो पटक सूचना प्रकाशित गरिएकोमा समय थपेर हाल भाद्र २५ गतेसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ ।