कलैया । नेपाल मुस्लिम सङ्घ बाराको अगुवाईमा नेपाली काङ्ग्रेसको हुन लागेको १४औ महाधिवेशनमा मुस्लिम प्रतिनिधित्व सुनिश्चितताका लागि काङ्ग्रेस बाराका सभापति जयचन्द्र प्रसाद चौरसिया मार्फत केन्द्रिय सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझाउदै काङ्ग्रेस पार्टी कार्यालय कलैया बारा अगाडी धर्ना समेत भएको छ ।
नेपाल मुस्लिम सङका केन्द्रिय सदस्य अफरोज आलम अन्सारीको अगुवाइमा धर्ना कार्यक्रम भएको हो । कार्यक्रममा ने.वि.संघ सहित पार्टीका अन्य बिभागमा रहेका मुस्लिम नेताहरु समेत बसेका छन ।
त्यसैगरी पार्टीको केन्द्रीय कार्यालयमा नेपाल मुस्लिम सङ्घका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारको नेतृत्वमा धर्ना शुरु भएको हो । धर्नामा पार्टीका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री फर्मुल्लाह मन्सुरको समेत उपस्थिति रहेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मुस्लिम महाधिवेशन प्रतिनिधिको सुनिश्चितता लगायत सम्पुर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै केन्द्रिय कार्यालय र जिल्ला कार्यालय बारामा धर्ना कार्यक्रम शुरु भएको हो । देशभर काङ्ग्रेस पार्टी कार्यालय अगाडि सो माग राखी धर्ना शुरु गरिएको मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य एवम काङ्ग्रेस नेता अफरोज आलम अन्सारीले बताउनु भयो ।