गृहमन्त्री स्तरीय छाविन समितिमा राजनैतिक दलहरुले गरे जगदम्बाको बिरोध

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 991 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल सरकार गृहमन्त्री स्तरीय निर्णयले जगदम्बा स्टिलको तालाबन्दी र अबरोध बारे गठन गरेको छानविन समितिले आज गरेको छलफलमा सिमराका सबै राजनैतिक दलहरुले जगदम्बा स्टिलको चर्को बिरोध गरेका छन् ।

नेपाल सरकार गृहमन्त्री स्तरीय निर्णयले गठन गरेको नौ सदस्यीय छानबिन समितिले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको समस्याका बारेमा राजनैतिक दलहरुसग आज छलफल गरेको हो । जीतपुरसिमरा वडा नं. २ मा रहेको उद्योगको पटक पटकको समस्याका कारण स्थानीयलाई समस्या हुदै आएको भएपनि त्यसको न्युनिकरण र निराकरण भन्दा उद्योगकै पक्षमा मात्र छलफल भएपछि बिरोध गरी कार्यक्रमनै छाडेर निस्किएको नेपाली काग्रेस जीतपुरसिमराका नगरसभापति श्यामबाबु गुप्ताले बताए ।

जनताको समस्या भन्दा उद्योगको वकालत गर्दै गृहमन्त्रालयका सहसचिब टेकराज निरौलाको संम्योजकत्वमा गठित छानविन समितिले चार कार्यशर्त बनाएर त्यसैमा छलफल थालेको बताउदै छलफलका बुदा उद्योगको पक्षमा मात्र रहेको गुप्ताले बताए ।

कार्यशत्रमा भदौ ११ गते उद्योगमा भएको घटना घटनुको कारण पत्ता लगाउने , क्षतिको विवरण संकलन, क्षति हुन नदिन के गर्नुपर्ने सुझाब र जिल्लामा रहेका प्रजिअ, सुरक्षा प्रमुख र सरोकारवालाहरुको छलफल गरी प्रतिबेदन दिने गरी कार्यशर्त बनाएर छानबिन शुरु गरेपछि उद्योगको बदमासी र स्थानीयको समस्या नआएको भन्दै राजनैतिक दलहरुले बिरोध समेत गरेका छन् ।

ईलाका प्रहरी कार्यालयमा भएको छलफलमा छानविन समितिका सदस्यहरु प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसी., सशस्त्र प्रहरी बल नेपाल पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान पर्साका उप अनुसन्धान निर्देशक टिका पोखरेल , उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सिनियर डिभिजन ईन्जिनियर प्रशान्त बोहरा, स्वास्थ्य मन्त्रालयका डा. बिरेन्द्र बहादु प्रधान, वातावरण विभागका भुपेन्द्र शर्मा , उद्योग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह र जितपुर सिमरा उपमहानगरपालिकाका वातावरण ईन्जिनियर पुष्पा सिंह रहेका थिए ।

पटक पटक विष्फोट भई धेरैको ज्यान गएको, प्रदुषण नियन्त्रण र जनचासो सम्बोधा गर्नुको सट्टा उद्योगले जनतालाई पेलेर जाने कामको कुनै पनि हिसाबले समर्थन गर्न नसक्ने नेता गुप्ताले बताए ।

स्थानीय प्रभावित वडा नं. २ का जनप्रतिनिधि सहितको टोलीले पछिल्लो पटक ग्यास उद्योग लिक भई स्थानीय मरणासान्न भएपछि अनिश्चितकालिन तालाबन्दी गरेपछि छानविन समिति बनेको हो ।

घटना सम्बन्धमा गृह मन्त्रालयका सह सचिव टेकराज निरौलाको नेतृत्वमा नौसदस्यिय छानबिन समितिले आज राजनैतिक दलहरुबिच छलफल राखेको हो ।

छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य राजन पौडेलले समितिको कार्यशर्त उद्योगको मात्रै सुरक्षामा केन्द्रित भएको देखिएकोले मजदुर र स्थानीयको सुरक्षा , वातावरणको सुरक्षा, स्वास्थ्य सुरक्षाको बिषयलाई केन्द्रमा राखेर उच्चस्तरीय कार्यदल बनाउनु पर्ने माग गरे ।

त्यसैगरी तत्कालीन बाराको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईको रोहवरमा जगदम्बा स्टिलको तर्फबाट साहिल अग्रवाल र स्थानीय बासिन्दा बिच २०६९।१२।२१ गते भएको सहमतिलाई कार्यन्वयन गर्नुपर्ने र सहमति उलंघन भएको बिषयलाई सच्याउने पर्ने पौडेलले बताए ।

उनले उद्योगले सिमसार क्षेत्र र सार्वजनिक जग्गा जमिन मिचेकोले फिर्ता गराई पहिलेकै रूपमा फर्काउनु पर्ने , ठुलो उद्योग जगदम्बा र बस्ती बीच बफर स्पेस जमिन त्यसपछि उद्योग , उद्योग भित्रै ओपन स्पेस, वृक्षारोपण, वाटर टिमेन्ट प्लान्ट बनाउन लगाउनु पर्ने सुझाब दिएको बताउनु भयो ।

नेकपा एमालेका नेता भोला अधिकारीले ग्याँस प्लान्ट र भट्टी हटाउनुको विकल्प नभएको बताउनु भयो । याँस प्लान्ट र भट्टीका कारण धेरैको ज्यान गएको प्रदुषण र उद्योगले गर्नुपर्ने न्युनतम काम समेत नगरेकोले आफुहरुले बिरोध गरेको एमाले जिल्ला सल्लाकार समेत रहेका अधिकारीले बताए ।

राजनैतिक छलफल कार्यक्रममा नेपाली काग्रेसका नगरसभापति श्यामबाबु गुप्ता, हरी थपलिया, एमालेका भोला अधिकारी, स्थानीय नेता राज कुमार बर्तौला, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेल, गिता कडेल, जसपाका भरत खड्का र सोहन शर्मा , नेकपा समाजवादी एकिकृतका कृष्ण खनाल, लोकतान्त्रिक समाजवादी राजपाका शिवजी साह, राप्रपाका नगर अध्यक्ष माधव त्रिपाढी लगायतका राजनैतिक दलका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content