कलैया । बाराको सिम्रौनगढ नगरपालिकामा सर्पको डसाईका कारण एक नावालकको मृत्यु भएको बिषयले सिम्रौनगढ तातेको छ । सर्पको टोकाईबाट सिम्रौनगढ नगरपालिका –२ का सुबोध प्रसाद साहका दुई बर्षिय छोरा अनुराज साहको मृत्यु भएपछि नगर अस्पतालमा तोडफोड समेत भएको छ ।
आईतबार राती १ बजे सिम्रौनगढ नगरअस्पतालमा सर्पको टोकाई पछि सिकिस्त अबस्थाका बालक लिएर आएका परिवारलाई उच्च उपचारका लागि कलैया अस्पताल पठाईएकै कारण समयमै उपचार नपाएर मृत्यु भएको भन्दै अस्पतालका कर्मचारीलाई कुटपिट गर्दै तोडफोडको घटनाले उग्ररुप लिदै आएको छ । नगरपालिका र सरकारले विभिन्न प्रचार र तामझाम गर्दै अस्पताल उद्धघाटन गरिएपनि सेवा नपाएको भन्दै बिरोध समेत गरेका छन् ।
यता नगरपालिकाले स्वास्थ्यकर्मी एवम कर्मचारी प्रयाग महतो, राजकिसोर साह लगायत १२ जनालाई निर्घात कुटपिट गरी अस्पतालमा तोडफोड गरेको जनाउदै दोषीमाथि कार्वाही नभएसम्म नगरपालिका माताहातका सबै काम बन्द गर्ने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । उनले तोडफोड र कुटपिटमा सम्लग्न वडा नं. २ निवासी ताराचन्द्र प्रसाद साहको नेतृत्वमा सुधिर साह , सतेन्द्र साह , मनोज साह लगायतकाहरुले घटना घटाएको जनाउदै २४ घण्टा भित्र कार्वाहीका लागि माग गरेका छन् । कार्वाही नभए सम्पुर्ण काम बन्द गर्ने उनले जनाएका छन् ।
सर्पको डसाईबाट मृत्यु भएका परिवारका आफन्तहरुले शव लिएर नगरपालिका बिरुद्ध प्रदर्शन समेत गरेका थिए । उनीहरुले नगरप्रमुख बिजयशंकर यादबको बिरोध गर्नुका साथै बजार क्षेत्रमा टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले डाक्टरको लापर्वाहीका कारण बालको मृत्यु भएको आरोप लगाउदै आएका छन् । सिम्रौनगढ नगर अस्पतालमा समयमै उपचार नगरी आधा घण्टा अल्झाएर राखेको कारणले बच्चाको मृत्यु भएको आरोप उनीहरुले लगाएका छन् । नगर अस्पतालमा सर्पको टोकाईको उपचार नहुने तथा एम्बुलेन्स समेत नभएको जनाउदै कलैया लैजान भनेपछि बालकको बाटोमै मृत्यु भएको हो ।
घटनाका बारे नगरप्रमुख यादबले अन्तिम संस्कार गर्न लगेको भएपनि राजनैतिक प्रतोशोध साध्नका लागि आफना बिरोधीहरुले आफनो र नगरपालिका बिरुद्ध प्रदर्शन गराएको आरोप लगाउनु भयो । आक्रोशित स्थानीयले नगरपालिकाका कर्मचारीलाई समेत कुटपिट गरेका अपांगता शाखाका कर्मचारी प्रयाग महतो घाइते भएका छन् । उनको वीरगन्जस्थिती इन्डो अस्पतालमा उपचार भइरहेको छ । ‘बच्चाको अवस्था गम्भीर भइसकेकाले सुविधासम्पन्न अस्पतालमा लान सल्लाह दिइएको थियो,’ उनले भने, ‘हामी कसैको ज्यान जाओस् भन्ने कुनैपनि स्वास्थ्यकर्मचारीलाई हुदैन । जीवन जोगाउने हाम्रो प्रयास हुन्छ ।’ सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवले बताए । आक्रोशित गाउँलेहरुले नगरपालिकको ढोका फोड्नुको साथै अस्पतालको झ्याल,फार्मेसी, ल्याब, कम्प्युटरसमेत तोडफोड गरेका छन् ।