निजगढ । बाराको सिम्रौनगढ नगरपालिकामा उत्पन्न विवाद समाधान नहुदा सेवाग्राहीलाई सास्ती हुदै आएको छ नगरपालिकाले भर्खरै शुरु गरेको नगर अस्पतालमा समयमा उपचार नपाएर बालकको मृत्यु भएको भन्दै निरन्तर शव सहित प्रदर्शन हुदै आएको छ आज विहिबार चौथो दिनपनि स्थानीय आफन्तहरुले शव सहित प्रदर्शन गरीरहेका छन् ।
त्यसो त कर्मचारीहरुलाई समेत कुटपिट भएको भन्दै कर्मचारीहरुले समेत दोषी उपर कार्वाही नभएसम्म काम गर्न नसक्ने भन्दै हडताल गर्दै आएका छन् । प्रदर्शनका कारण सिम्रौनगढ नगरपालिका र नगर अस्पतालको सम्पुर्ण कामकाज ठप्प भएको छ । सामान्य सिफारिस समेतको काम ठप्प भएपछि घटनाको निश्पक्ष छानविनका लागि स्थानीय प्रशासनलाई राजनैतिक दलहरुले आग्रह गरेका छन् । दुवैपक्षलाई राखेर छानविन समिति बनाई कर्मचारी र स्थानीय दुवै पक्षको आन्दोलन स्थगित गर्नुपर्ने स्थानीय बुद्धिजिबिहरुले बताएका छन् ।
गर्मीका समयमा चार दिनदेखि बच्चाको लास गन्हाउन थालीसकेको छ । सोमबार देखि जारी प्रदर्शनका कारण कार्यालयको कामकाज ठप्प भएपछि नगरक्षेत्र भरिका सेवाग्राही समस्यामा परेका छन् । नगर अस्पताल बन्द भएपछि स्थानीयहरु स्वास्थ्य सेवा बाट पनि बञ्चित हुनु परेको छ । नगर अस्पतालमा तोडफोड भएपनि सानो भन्दा सानो स्वास्थ्य समस्याको उपचार गराउन कीत कलैया कि सीमा पारी भारतीय बजार पुग्नुपर्ने बाध्यता भएको स्थानीय रामेश्वर मेहताले बताए ।
सर्पले टोकेर उपचार गराउन आएका बालकको उपचारमा सिम्रौनगढ नगर अस्पतालले लापरवाही गरेकोले मृत्यु भएको भन्दै सिम्रौनगढमा सोमबार देखि शव सहित प्रदर्शन गर्दै आएका छन् । आफन्तहरुले नगर अस्पताल अगाडी बुधबार दिनभर टायर जलाएर प्रदर्शन गरेका छन् । नगर अस्पतालका स्वास्थ्यकर्मी माथि छानबिन गरी कार्वाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतीपुर्ति दिनुपर्ने माग सारेर आफन्त तथा स्थानीयहरुले आन्दोलन गर्दै आएका हुन ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मौवाहीका सुमेद साहको १६ महिने छोरालाई घरमा सुतीरहेको समयमा आईतबार राती सर्पले टोकेर उपचार गराउन अस्पताल ल्याउँदा स्वास्थ्यकर्मीहरुले अस्पतालमा चिकित्सक नभएको तथा औषधीको पनि अभाव रहेको भन्दै भर्ना लिन नमानेपछि बालकको मृत्यु भएको मृतक बालकको आफन्तले आरोप लगाउँदै आएका छन् ।
यता अस्पताल प्रशासनले भने उपचारको लागि आएको बालकको अवस्था पहिलादेखि नै नाजुक भएकोले अन्यत्र रेफर गरिएको र लाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।