सेवा दिने सरकारी कर्मचारीकै कारण दुई सरकारी कार्यालय १० दिनदेखि बन्द, प्रहरी प्रशासन मौन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
13 मिनेट पढ्न लाग्ने समय

निजगढ । सेवा दिने सरकारी कर्मचारीकै कारण दुई सरकारी कार्यालय १० दिनदेखि बन्द भएपनि प्रहरी प्रशासनको खुलाउने तर्फ सकृयता देखिएको छैन ।  भर्खरै स्थापना भएको सिम्रौनगढ अस्पतालमा तोडफोड र कर्मचारी कुटपिट पछि बन्द रहेको दुई सरकारी कार्यालय सिम्रौनगढ नगर अस्पताल र नगरपालिका खुलाउन स्थानीय प्रहरी प्रशासनको प्रभावकारी पहल नहुदा १० दिनदेखि बन्द रहेको छ ।

सरकारी कर्मचारी माथि हातपात र नगरअस्पतालमा तोडफोड गर्ने उपर कार्वाहीको माग राखेर आम जनतालाई सेवा दिने सरकारी कर्मचारीकै कारण बन्द रहेको सिम्रौनगढ नगर अस्पताल र नगरपालिका बन्द भएपछि नगरमा फोहर थुप्रिएर दुर्गन्ध वढनुका साथै स्थानीयले कुनैपनि सुबिधा पाईरहेका छैनन । कर्मचारीहरुले सेवा ठप्प पारेपछि बिमारी भएका स्थानीय भारतीय बजार जान बाध्य भएका छन् भने नगरपालिका बन्द हुदा सिफारिस, विकास निर्माण लगायत सबै काम ठप्प भएको छ । तिन तहको राज्य संरचना मध्ये स्थानीय तह एक राज्यभएको र उसकोे सिफारिस नभएसम्म कुनैपनि काम हुन पाउदैन । नगरका केही बदमासका कारण सम्पुर्ण सेवा बन्द भएपछि नगरभरीका सबै नागरिकलाई समस्या हुदै आएपनि खुलाउने तर्फ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादब र नि. प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साहले पहल गरेका छैनन् ।

राज्यले अस्पताल तोडफोड गर्ने र कर्मचारी कुटपिट गर्नेलाई तत्काल एक घण्टामा पक्राउ गरी कार्वाही गर्न सक्ने भएपनि १० दिन बितेपनि न दोषी पक्राउ परेका छन् नत कार्यालय खुलाउन अन्य विकल्पमा स्थानीय प्रशासनले पहलनै गरेको छ । तोडफोड भएको घटनाको एक उच्चस्तरीय छानबिन समिति बनाएर त्यसैको आधारमा थप कार्वाहीमा जान सुझाब आएपनि हुन सकेको छैन ।

संग्लन्नामाथि कारबाहीको माग गर्दै सेवा प्रवाह गर्ने कर्मचारीनै आन्दोलनमा उत्रिएपछि र जिम्मेवार निकायबाट उचित पहल नहुदा अझै अस्पताल र वडा तथा नगरपालिका केही दिन बन्द भई नगरका स्थानीय सेवा सुबिधाबाट बञ्चित हुने भएका छन् ।

घाईते अस्पताल र नगरका कर्मचारीहरुले घटना घटेको दुईदिनपछि भाद्र ३० गतेनै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षकलाई नाम किटानी गरी जाहेरी दिएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ समेत गरैको छैन । त्यसो त प्रहरी कार्यालयले जाहेरीलाई दर्तानै आजसम्म नगरेर बसेको आरोप कर्मचारीहरुले लगाएका छन् । यस अघिनै ज्ञापनपत्र दिएपनि फेरी माग पूरा गराउनका लागि सोमबार नयाँ प्रमुख जिल्ला अधिकारी‍समक्ष उनीहरुले ज्ञापन पत्र बुझाइएको पनि तीन दिन पुग्न लागेपनि न दोषी देखिएका पक्राउ परेका छन, न दुवै पक्षलाई राखेर छलफल गर्ने काम भएको छ, नत छानविन समिति नै बनाएर बन्द कार्यालय खोल्ने सहमति भएको छ । यसले प्रहरी प्रशासन दुवैपक्ष चुक्दै गएको कारण १० दिनदेखि कार्यालय संञ्चालनमा आउन नसकेको कर्मचारीहरुको आरोप छ ।

सिम्रौनगढमा चौथो दिन पनि प्रदर्शन, सेवाग्राहीलार्ई सास्ती छानविन समिति मार्फत विवाद टुङाउन माग

के भन्छन नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत

सरकारी कामकाज र कार्यालय बन्द हुनु नहुने बताउदै सरकारी कर्मचारी आतकिंत भई सुरक्षाको अबस्था नभएपछि मात्र आन्दोलन गर्नु परेको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साहले बताउनु भयो । उनले क्षतिको मूल्यांकनसहित घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीबाट आदेश भएको भएपनि आरोपितहरु पक्राउ नपरेको बताए । घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको भरपर्दो व्यवस्था नभएसम्म काममा नफर्कने कर्मचारीको दबाब रहेको उनले बताए । उनले यस अघि पनि योजना अधिकृत जितेन्द्र यादब कुटिएपनि दोषी पक्राउ र कार्वाही अहिलेसम्म भएको छैन । सरकारी कर्मचारी एकपछि अर्को गरी कुट्दै हिड्नेहरु खुलेआम फेरी पिट्ने थम्की दिदै हिड्छन । उनीहरुलाई पक्राउ गरी मिलापत्र समेत गर्ने काम प्रहरी प्रशासनले नगरेका कारण असुरक्षित कर्मचारी कसरी काममा जान्छन साहले बताए । साहले नगरका सरकारी कर्मचारी, स्वास्थ्यकर्मीसँगै नगरपालिका कार्यालय तथा अस्पतालमा भौतिक सम्पत्ति तोडफोडले ठूलो नोक्सान भएको र कर्मचारी समेत घाइते भएको बताए । यस्ता उत्सृङखल गतिबिधि गर्ने अनि छलफलमा ५० लाख रकम मागेर कसरी समाधान हुन्छ बताउदै घटनालाई राजनितिकरण कसैलेपनि गर्न नहुने साहले बताए । उनले दुईपटक छलफल भएपनि नगरले बनाएको छानबिन समिति नमान्ने भनेपछि आफुहरुले निकास निकाल्न नसकेको र प्रजिअलाई समेत जानकारी गराईसकेको बताए ।

के भन्छ जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले घटनाबारे जाहेरी परेको बताएका छन् । जाहेरीको बारे अध्ययन भईरहेको तर दर्ता भने भई नसकेको बताउनु भएको छ । प्रहरी नायव उपरीक्षक मिश्रले आजसम्म कोहीपनि पक्राउ नपरेको समेत बताएका छन् । प्रमुख जिल्ला अधिकारीसग छलफल र समन्वयमा दोषी उपर आवश्यक कार्वाही हुने मिश्रले बताउनु भयो । जाहेरी परेको १० दिनसम्म जिल्ला प्रहरी कार्यालय जाहेरीको अध्ययन गरेर मौन बसेकै कारण १० दिनदेखि दुई सरकारी कार्यालय र माताहातका वडाकार्यालय समेतबाट सरकारी सेवाबाट स्थानीय बञ्चित हुनु परेको आरोप कर्मचारीहरुले लगाएका छन् । अधिकृत साहले प्रहरीले चासो नदिएको आरोप लगाएका छन् । जाहेरी दिएको एकहप्ता बितेपनि अहिलेसम्म प्रहरीले किटानी दोषीहरुलाई पक्राउ नगरेको र मुद्या पनि दर्ता नगरेको सुन्न आएको बताएका छन् । घटनामा प्रहरीले चासो दिएको छैन् । अहिलेसम्म न कसैलाई पक्राउ गरिएको छ, न अनुसन्धाननै भएको प्रमुख प्रशासकिय अधिकृत साहले बताए ।

 

के भन्छन मृतकका पिडित पक्ष

मृतकका पक्षका आफन्त ताराचन्द्र गुप्ताले अस्पतालले करिब डेढ घण्टा ढिलाई गरेकै कारण बालकको मृत्यु भएको आरोप लगाए । उनले अस्पतालमाथि सर्वदलिय छानविन समिति गठन गरी दोषीमाथि कार्वाही र पिडितलाई क्षतिपुर्ति प्रमुख माग रहेको बताए । उनले अस्पताल र डाक्टरकै लापर्वाहीले बालकको मृत्यु भएको समेत बताए । अस्पतालले गरेको कमीकमजोरी लुकाउन कर्मचारीले सेवा अबरुद्ध पारेको समेत उनले बताए । उनले आफुहरुले भाद्र ४ गते छानविन समिति गठन गरी दोषीमाथि कार्वाही र क्षतिपुर्ति नभए भाद्र ८ गते पछि थप कडा आन्दोलनको कार्यक्रम गर्ने सर्वदलिय निर्णय भएको जानकारी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिदै दिएको बताउनु भयो । उनले अस्पतालमा पहिल्यै प्रहरी थियो । ढोका बन्द गरेको थियो । केहीले सिसा तोडफोड गरेपनि ठुलो क्षति नभएको बताए । उनले नेकपा एमालेका ताराचन्द्र प्रसाद साह, नेकपा एकिकृत समाजवादीका गगनदेब कुश्वाहा,, माओवादी केन्दका श्याम किसोर यादब, लोकतान्त्रिक समाजवादी पार्टीका किसोरी साह, राप्रपाका सतेन्द्र गुप्ता, नेकपा माओवादी कान्त्रीकारीका प्रमानन्द साह लगायतले प्रजिअलाई ज्ञापनपत्र दिएको बताए । हाम्रा माग पुरा नभए ८ गते पछि कडा आन्दोलन गर्ने गुप्ताले बताए ।

जनता समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष समेत रहेका प्रमानन्द मुखियाले समयमै उपचार नपाएको बिषयकै कारण उपचार नपाएर मृत्यु भएको बताउनु भयो । यसको पनि छानविनको बिषय बनाउनु भन्ने हामीहरुले बताएका छौ । सरकारी पक्ष सेवा दिनेलेनै कार्यालय बन्द गरी सेवा अबरुद्ध पार्नु ठुलो अपराध भएको उनले बताए ।

सर्पको डसाईका कारण एक नावालकको मृत्यु,अस्पतालमा तोडफोड, १२ जनालाई निर्घात कुटपिट,२४ घण्टा भित्र कार्वाहीका लागि माग

के भन्छन नगर अस्पतालका डाक्टर

नगर अस्पतालका प्रमुख डा. जितेन्द्र यादबले अस्पतालमा सबै प्रकारको उपचार भईरहेको बताए । कम जनशक्ती भएर पनि जनताको सबै उपचार सिम्रौनगढमा गर्ने गरी थप सेवा विस्तार गर्ने योजना रहेको समेत बताए ।
सर्पले टोकेको औषधि एउटा बिष हो । कति बेला टोकेको हो । कहाँ टोकेको हो । सबै पत्ता लगाएपछि मात्र औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । कि देखेको हुनुपर्छ त्यो पनि छैन । कि सर्पले टोकेको ठाउँ हेर्नु पर्छ त्यो पनि छैन । नदेखेको हेर्ने क्रममा हिस्ट्री नलिई कसरुी शुरु गर्ने । लक्षण छ छैन । बच्चा भएर लक्षण पत्ता लगाउन अफठेरो भएको अबस्थामा १०देखि १५मिनेट समय लिएको हो । लगत्तै एम्बुलेन्स बिरगन्ज गएको छ मोटरसाईकलमानै भएपनि लैजान भनेको यादबले बताए । अस्पतालमा मेडिकल अधिकृत सहित ३० जना रहेका छन । सर्पदशको उपचार भईरहेको बताउदै डा. यादबले तीन महिनाको भित्रमा सर्पले टोकेका एक सय भन्दा बढीको उपचार गरेको बताउनु भयो । जसमा करिब पाँच जना अति सिकिस्त रिफर गरेको र बाँकी सबैको उपचार सिम्रौनगढ नगर अस्पतालमै भएको उनले दावी गरे । जनरल मोनिटरिङ वार्ड सञ्चालन छ । जहा भर्ना गरेर उपचार गर्ने गरिएको छौ । भेन्टिलेटर र आईसियु वार्ड सञ्चालन लगायत अन्य थप सेवा थप्दै जाने योजना रहेको र अधिकाश सेवा रहेको डाक्टर यादबले बताए । उनले अस्पताल दर्ता लगायत सबै रहेको समेत बताए ।

 

छानविननै हुनुपर्ने के थियो घटना

भाद्र २७ गते आईतबार राती १२ बजे सिम्रौनगढ नगरपालिका–२ मौवाही गाउँका सुमेध प्रसाद गुप्ताको डेढ वर्षीय छोरा अनुराज गुप्तालाई सर्पले डसेपछि मृत्यु भएको थियो । केहीसमयमात्र अघि तामझामकासाथ शुरु भएको सिम्रौनगढ नगरअस्पताल उपचारका लागि लगेका थिए । सर्पको टोकाई पछि सिकिस्त अबस्थाका बालकलाई झण्डै एक घण्टा डाक्टर नभएको भन्दै ढिला गरेको आरोप पिडित मृतक पक्षको छ । त्यसमा पनि एम्बुलेन्समा पेट्रोल नभएको भन्दै नपाएको उनीहरुको अर्को आरोप छ । केहीबेर दर्ता केरकार र सोधपुछ पछि डाक्टर नभएको र एम्बुलेन्स समेत नपाएका कारण समयमै उपचार नपाएर बालकको मृत्यु भएको मृतक पक्षको आरोप छ । त्यसको भोलीपल्ट भदौ २८ गते बिहानैदेखि जम्मा भएका मृतकका आफन्तहरुले अस्पतालका कर्मचारीलाई कुटपिट गर्दै तोडफोडको घटना भएको थियो ।

घटनामा नगरपालिकाका स्वास्थ्यकर्मी एवम कर्मचारी प्रयाग महतो, राजकिसोर साह लगायत १२ जनालाई निर्घात कुटपिट गरी अस्पतालमा तोडफोड भएको थियो । लगत्तै दिउसो नि. प्रशासकीय अधिकृतले कर्मचारीहरुको मिटङि गरी दोषी उपर कार्वाहीको माग गर्दै सबै सेवा अबरुद्ध गर्ने विज्ञप्ती जारी गरे । अधिकृतले तोडफोड र कुटपिटमा सम्लग्न वडा नं। २ निवासी ताराचन्द्र प्रसाद साहको नेतृत्वमा सुधिर साह , सतेन्द्र साह , मनोज साह लगायत करिब एक दर्जनले घटना घटाएको जनाउदै २४ घण्टा भित्र कार्वाहीका लागि माग गरेर आन्दोलन गरे । कार्वाही नभए सम्पुर्ण काम बन्द गर्ने उनले जनाएसगै आज १० दिन भएपनि सेवा शुरु भएको छैन । सर्पको डसाईबाट मृत्यु भएका परिवारका आफन्तहरुले शव लिएर नगरपालिका बिरुद्ध प्रदर्शन समेत गरे । उनीहरुले नगरप्रमुख बिजयशंकर यादबको बिरोध गर्नुका साथै बजार क्षेत्रमा टायर बालेर प्रदर्शन समेत गरे । उनीहरुले डाक्टरको लापर्वाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउदै आएका छन् । सिम्रौनगढ नगर अस्पतालमा समयमै उपचार नगरी एक घण्टा अल्झाएर राखेको कारणले बच्चाको मृत्यु भएको आरोप लगाए । नगर अस्पतालमा सर्पको टोकाईको उपचार नहुने तथा एम्बुलेन्स समेत नभएको जनाउदै कलैया लैजान भनेपछि बालकको बाटोमै मृत्यु भएको उनीहरुले बताए । त्यसक्रममा अस्पतालको कम्प्युटर, सिसाको झ्याल, फार्मेसी, नगरपालिका कार्यालयको ढोका लगायतमा क्षति पुगेको छ । प्रदर्शनकारीको कुटपिटबाट नगरपालिकाका अपाङ्गता शाखाका कर्मचारी प्रयाग महतो सख्त घाइते भएका थिए । उनी पनि शारीरिक अपाङ्ता भएका व्यक्ति हुन् । सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवका अनुसार महतो, नगर प्रहरीसहित अन्य १२ जना समान्य घाइते भएका थिए ।

यता अस्पताल पक्षले भने बालकको अवस्था नाजुक भई आएको बताएका छन् । उनीहरुले बालकको अबस्था हेर्नासाथ अस्पतालमा भेन्टिलेटर तथा आईसीयूको व्यवस्था नभएकाले अन्यत्र लैजान तत्कालै भनेको बताएका छन् । अस्पतालमा बढीमा १५ मिनेट बिरामी बसेको अस्पतालको सिसिटिभीबाटै पुष्टी हुने नि. प्रमुख प्रशासकीय अधिकृत साहको भनाई छ ।

घुस्यो चुनाबी राजनिती – नगरप्रमुख यादब

नगरप्रमुख बिजयशंकर यादबले आफु अस्पतालको घटनामा कही नभएपनि नगरप्रमुखलाई जोडेर अन्य राजनैतिक दलबाट बिरोध हुदै आएको बताएका छन् । नजिकिदै गरेको निर्वाचनमा कसरी कमजोर बनाउने भनेर राजनीति गर्नेले मेरो बिरोध गर्न लगाएर उचाल्ने काम गरेकाले समस्याको निकास नआएको बताए । केही राजनैतिक दलहरु नगरप्रमुख बिजयशंकर यादबबिरुद्ध खनिदै आएको बताएका छन । पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उच्च अदालत लगायत विभिन्न निकायमा नगर सभा, रकम हिनामिना लगायतको माग गर्दै आफुलाई अन्य राजनैतिक दलबाट दुख दिने काम हुदै आएको नगरप्रमुख यादबले बताए । नगरमा बिकास भए बलियो हुने देखेर बिरोधीहरु एक भएको यादबले बताए ।

अस्पतालमा स्वीकृती लिएर सबै काम भएको छ । अधिकाश सेवा अस्पतालमा हुदै आएको समेत यादबले बताए । उनले निश्पक्ष छानबिन भएर दोषी उपर कार्वाही हुनु पर्ने बताए । दुवै पक्षले छानबिन समिति भनेपनि प्रशासनले छानबिन समिति नबनाएको आरोप दुवै पक्षको छ । कार्यालय बन्द हुनु प्रहरी प्रशासन दोषी रहेको यादबले बताए । उपचार हुदैन भन्नेहरुले कति उपचार भएको छ भन्ने हेर्न जरुरी रहेको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content