कलैया । विश्व प्रसिद्ध श्री गढिमाई मन्दिर संचालन तथा बिकास समितिमा अनियमितता भईरहेकोले छानबिन, सञ्चालन र ब्यबस्थापनमा नगरपालिकाले गर्नुपर्ने माग समितिबाटै भएको छ । समितिका सचिब पारस प्रसाद गुप्ताले यस्तो माग गरेका हुन ।
दर्शनार्थीहरुले मन्दिरमा दैनिक चढ्ने भेटी पारदर्शिरुपमा खातामा नजाने गरेको पाएपछि पटक पटक अध्यक्षसग माग गरेपनि नदिएको बताए । उनले आफुले मन्दिरको रकम हिनामिना हुनु भन्दा नगरपालिकाले ब्यबस्थापन र सञ्चालनमा ध्यान दिन जरुरी रहेको बताए । मन्दिरमा लाखौको नगद र सुन चान्दी गरगहना सहित विभिन्न किसिमका भेटी चढाउने गरे पनि ब्यक्तीले प्रयोग गर्दै आएको उनले बताए ।
गुप्ताले आज पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन । अनियमितताको बिषय छानविन गर्न माग गर्दा आफुलाई कुटपिट समेत भएको बताउदै प्रहरी र प्रशासनमा उजुरी लिएर गएपनि नसुने पछि पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए । गुप्ताले समितिकै अध्यक्ष रामचन्द्र साह तेलिको योजनामा समितिका कोषाध्यक्ष महेश जयस्वाल सहितकाले अनियमितता गरेको र उनीहरुलेनै आफुमाथी कुटपिट गरेको बताएका छन ।
समितिको सम्पूर्ण कागजपत्र आफुले अध्ययन गर्न पाउनु पर्ने बताउदै उनले मन्दिरमा चढाईने भेटिको हिसाब किताब सार्वजनिक हुनुपर्ने माग गरे ।
गएको शनिबार आफू समितिको प्राङ्गणमा बसिरहेका बेला कोषाध्यक्ष सहित आएका समुहले कुटपिट गरेको गुप्ताले बताए । गुप्ताले आफुमाथी भएको कुटपिट मा सामेल भएकाको विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जादा उजुरी समेत दर्ता नगरेको भन्दै प्रहरी प्रशासनमाथी समेत भरोसा नभएको दुःख पोखे ।
महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले घटना प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । स्थानिय सरकारले कुनै पनि मठ मन्दिर मस्जिद गुठी आदिको सम्पती संरक्षण गर्नुपर्ने दायित्व भएकोमा कुनै किसिमको कमि नगर्ने र मन्दिरको भेटी हिनामिना भएको भनेर सचिव बाटै आएको गुनासो उपर छानबिनका लागि आवसश्यक पहल गर्ने बताउनु भयो ।
सचिब गुप्ताले आफुमाथी भएको कुटपिट र आफुले उठाएको माग पुरा नभए आफू सहित मन्दिरका शुभेच्छुक जनता आन्दोलनमा जाने बताएका छन ।
सचिबको आरोप बारे समितिका अध्यक्ष रामचन्द्र साहले आर्थिक कारोबार समितिको निर्णयका आधारमा हुने गरेको बताउनु भयो । दान चढेको भेटी निणयका आधारमा खातामा जम्मा हुने गरेको बताउदै आएर सबैले हेर्न सकिने बताउनु भयो । सचिबले लगाएको आरोप गलत भएको साहले बताए । आफुहरुले गढीमाईको विकासमा कुनै कम हुन नदिएको बताउनु भयो ।