निजगढ । निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा निकासी गर्न पाउने भएको छ । बाराको कलैयामा जिल्ला समन्वय समितिको आज बुधबार सम्पन्न बैठकले अनुमति दिने निर्णय गरेको हो । नदीजन्य तथा खानीजन्य अनुगमन समितीका प्रमुख नवल किशोर सिंहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
डिभिजन वन कार्यालय बारा र निजगढ नगरपालिकाकाबिच बिवाद भएपछि नगरपालिकाले लगाउन लागेको ठेक्का पटक पटक सुचना प्रकाशन हुदै सर्दै आएको थियो । गत श्रावण १९ गते नगरपालिकाले निकालेको ठेक्का दुई पटक म्याद थप भई भोली १२ बजेसम्म अन्तिम समय रहेको नगरपालिकाका सुचना अधिकृत रविन घिमिरेले बताउनु भयो ।
घिमिरेले अब जिल्ला समन्वय समिति र राष्ट्रपति चुरे समितिले समेत सहमति दिएपछि ठेक्काको म्याद थप नहुने बताउदै अब ठेक्का लागेर नदी खोला खुल्ने उहाँले बताउनु भयो ।
निजगढ नगरपालिकाको आ.ब. २०७८/०७९ का लागि नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा निकासीका लागि सहमति दिएको हो । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, खुमलटार, ललितपुरको पत्र अनुसार निजगढ नपालाई नगरपालिका क्षेत्र भित्र पर्ने धन्सार, बगर, बकैया, लाल, भक्तलाल र शक्ति खोलाबाट ढुंगा, ग्राभेल, बालुवा उत्खनन् गर्न अनुमति दिएको हो । समितिको सहमति पत्रमा उल्लेख भएका शर्तहरू अनिवार्यरूपमा पालना गर्ने गरी र नेपालको प्रचलित कानुन बमोजिम उत्खनन्, संकलन तथा निकासी कार्य गर्न ठेक्का व्यवस्थापनको कार्यलाई निजगढ नगरपालिकालाई सहमति दिएको हो ।
राष्ट्रपति चुरेले नगरपालिकाले स्वीकृत गरेको आई प्रतिवेदन अनुरुप उत्खनन निकासी एवं संकलन गर्नका लागि दिएको स्वीकृतिलाई जिल्लाको खानीजन्य तथा नदीजन्य अनुगमन समितिको बैठकबाट पारित गरी नगरपालिकाले गरेको ठेक्का व्यबस्थापन प्रक्रिया अघि बढाउन सहमति दिएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले बताउनु भयो ।
नगरपालिकाले ठेक्का लगाउन नसक्दा असोज १ गतेदेखि खोला नदी खोल्नुपर्ने भएपनि खोल्न नसक्दा घर बनाउन र विकास निर्माणमा समेत असर पर्दै आएको थियो ।