निजगढ । प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिवास टोलीले छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।
वुधवार करिव दुइ वजे देखि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले प्रदेश २ को बेटि पढाउ बेटि वचाउ अभियान अन्तरगतको साइकल खरिदमा अनियमितता भएको आशंकामा खर्च विवरण सम्वन्धि फाइल अनुसन्धानका लागि छापामारी गरी नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको उपसचिव मेघनाथ रिमालका अनुसार साइकल खरिदमा अनियमीतता भएको उजुरी आएको र सोहि अनुसार छानवीन गर्नका लागि मुख्यमन्त्री कार्यालयमा ६ जनाको टोली संगै छानविनमा लागेको वताए । अहिले अध्ययन प्रक्रियामा रहेको र अध्ययन पश्चात फाइलहरुलाई अख्तियार लग्ने नलग्ने विषयमा जानकारी गराउने रिमालले वताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको उपसिचिव मेघनाथ रिमालको नेतृत्वमा ६ जनाको टोली मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो ।
प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक वेटी पढाउ वेटी वचाउ अन्तरगत साइकल खरिदमा व्यापक अनियमीतता भएको भनेर विभिन्न संचारमाध्यमहरुमा समाचारहरु आएको र उजुरी समेत आएपछि छापामारी भएको हो ।
छानविन भन्दा बदनाम गराउने तर्फ भएको आरोप
यसैबिच छापामारीको बिषयलाई प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।
राउतले अख्तियारको उक्त शैली छानविन भन्दा बदनाम गराउने तर्फ भएको आरोप लगाए । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले भएको उनले बताएका छन् । उनले साइकल कम्पनीबाटै र बजार मुल्यभन्दा सस्तोमा खरिद गरेको दावी समेत गरेका छन् ।