रक्सोल–काठमाडौं रेलवे द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर डीपीआर थालनी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 614 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

सिमरा । रक्सोल–काठमाडौं रेलवे परियोजनाको फाइनाल लोकेसन सर्भे सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा नेपाल र भारतबीच सम्झौता भएको छ । योसँगै अब भारतीय पक्षले प्रस्तावित गरेको रक्सोल–काठमाडौं रेलवेको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको थालनी गर्नेछ ।

समझदारीपत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले ट्विटर मार्फत जानकारी दिएको छ । नेपालले ब्रोडगेज रेलवे की स्ट्यान्डर्ड गेजमा रेल्बे निर्माण गर्ने भन्ने निर्णय समयमै नगरेको कारण यो योजना सम्झौप्तामा ढिलाई हुदै आएको थियो । अन्तत नेपाल र भारत दुई देशबीच क्रस बोर्डर अन्तर्देशीय ब्रोडगेज रेलवे लाइन निर्माणको लागि यो सम्झौता भएको हो । यो सगै अब नेपाल ब्रोडगेज रेलवे लाइन निर्माणमा अघि बढेको छ ।

नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले प्रतिनिधित्व गरेका थिए भने भारतको तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक ट्राफिक ट्रान्सपोर्टेसन फ्रेट डा. मनोज सिंह र पीएससी बैठकमा विदेश मन्त्रालयका सहसचिव अनुराग भूषणले प्रतिनिधित्व गरेका थिए ।

 

गत फागुन २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको रेल विभागका निर्देशकलाई समझदारी पत्र स्वीकृत गर्न हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।

भारतले काठमाडौंसम्म ब्रोडगेज रेलवे लाई जोड दिँदै आएको भएपनि सहमतिमा नआएको नेपाल सहमत भएपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली पक्षले भने स्ट्यान्डर्ड गेजमा जोड दिए पनि भारतको विज्ञता ब्रोडगेजमा भएकोले यहीअनुसार सहमति भएको हो । अहिले धमाधम पूर्व–पश्चिम रेलमार्ग पनि निर्माणलाई सरकारले जोड दिएको छ ।

बैठकमा रक्सोल–काठमाडौं ब्रोडगेज रेलवे र फेज २ रेलवे लिंक परियोजनाबारे छलफल भएको थियो। साथै दुवै पक्षले रेलवे क्षेत्रमा प्राविधिक सहकार्य गर्न सहमति जनाएका छन्।

रेल्बेमा कर्मचारीहरुलाई क्षमता वृद्धि, लजिस्टिक सपोर्ट र नेपाली रेलवे कर्मचारीलाई तालिम दिने लगायतबारे पनि सहमति भएको छ। दुवै पक्षले जयनगर–कुर्था क्षेत्रमा यात्रुवाहक रेल सञ्चालन प्रक्रियाको मापदण्डमा पनि हस्ताक्षर भएको नेपाली पक्षले जनाएको छ। बैठकमा अहिले भइरहेको जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोडगेज रेलवे निर्माणबारे पनि गहन छलफल भएको बताईएको छ ।

रेल किनेको एकबर्ष नाघेपनि सञ्चालनमा आएन

जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेल भित्र्याएको एक वर्ष नाघि सकेको भएपनि अझै सञ्चालन हुन सकेको छैन । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड ९उच्च गति० परीक्षण भइसकेपनि रेल सञ्चालन हुन सकेको छैन । करिब एक अर्बमा किनेर ल्याएको रेल चलाउन नसक्ने सरकारले यस्तो गैर जिम्मेवारी र देशलाई घाटा पुराउने काम गरिब नागरिकबाट उठाएको कर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा बिरोध हुदै आएको छ ।

२०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फटेर धुजा(धुजा भइसक्दा पनि रेल सञ्चालन हुन सकेको छैन । नेपाल रेल्वे कम्पनीले जिम्मा पाएपनि कहिले कर्मचारी त कहिले कानुनको अभावको कारण देखाएर रेल सञ्चालन हुन सकेको छैन । पार्किङमा राखेको रेलमा खिया लाग्न थालि सकेको भएपनि रेल कहिले सञ्चालन हुने मिति तय भएको छैन् ।

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याउन समझदारी गरिसकेको भएपनि काम अघि बढेको छैन । ज्यालादारीमा करिब २०० कर्मचारी भर्ना गरिए पनि तत्काल रेल चल्ने अवस्था नहरेको भन्दै कम्पनीले कर्मचारीलाई सेवाबाट हटाएको छ ।

भारत सरकारले करिब ९ अर्ब रुपैयाँको लगानीमा जनगरबाट बर्दिबाससम्म रेलमार्ग बनाउने जिम्मा लिएको छ । जनकपुरसम्मको ब्रोडगेज रेलमार्ग तयार भएको तीन वर्ष बितिसक्यो । तर एकबर्ष अघि किनेको रेल समेत चलाउन सकस परेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content