निजगढ । तीन दिनदेखिको लगातार वर्षाका कारण अन्न भण्डारकारुपमा चिनिएको बारा पर्सा रौतहट लगायत तराईका जिल्लामा लगाईएको धानबालीमा करोडौंको क्षति पुगेको छ ।
लगातार परेको वर्षाका कारण काटिएको धान र नकाटिएको बालीमा समेत ठूलो क्षति भएको छ ।
अविरल वर्षा तथा हावाहुरीका कारण तराईका जिल्लाहरुमा भित्र्याउन काटेको धान बाली खेतमै नष्ट भएपछि यसबर्ष धान उत्पादनमा कमी आउने भएको छ ।
वर्षाका कारण लगाएको धान तथा तरकारी बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । काटोको धान सुरक्षित गर्न नसकिएको र नकाटेको धान पनि हावाले ढालेपछि उम्रन थालेको छ ।
धान काट्ने बेलामा वर्षाले क्षति पुर्याएपछि धान उत्पादनमा कमी हुने भएको छ ।
आइतबारदेखि परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परेर देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा बाढी पहिरोमा परेर ४८ जनाको मृत्यु भएको हो ।
मन्त्रिपरिषद् बैठकले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
बाढी–पहिरोबाट प्रभावितलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री खाँणले बताए। सरकारले बाढी–पहिरोबाट विस्थापित भएकाहरुका लागि अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।