निजगढ । बारा जिल्लाको निजगढ नगरपालिकामा एम्बुलेन्स नपाएर एक सिकिस्त बिरामी समस्यामा परेका छन् । एम्बुलेन्स चालकहरुले नमानेपछि उनले टाटासुमो मार्फत उपचारका लागि काठमाण्डौ लगेका छन् ।
२४सै घण्टा सेवा सञ्चालन हुने एम्बुलेन्सका चालकहरु काठमाण्डौ जान नमानेपछि बुधबार राती ११ बजे निजगढ ८ का दुर्गालाल श्रेष्ठ उपचारका लागि कष्टपुर्णरुपमा टाटासुमो प्रयोग गरी काठमाण्डौ जान बाध्य भएका हुन । अकस्मात पेट दुखेर सामुदायिक अस्पताल प्रसुती गृह उपचारका लागि आएका श्रेष्ठ मुटु रोगी भएको र हर्ट अट्याकको सम्भावना देखेपछि प्रसुती गृहले तत्काल काठमाण्डौ लैजान भनेको प्रसुति गृहका नाम नबताउने एक स्वास्थ्यकर्मीले बताए ।
प्रसुती गृहमै राखिएको दुई एम्बुलेन्स मध्ये एक पुरानो भएको र एक चालक बृद भएको भन्दै जान नमानेको उनले बताईन । साझ ५ बजे देखिनै एम्बुलेन्स खोजेको भएपनि नपाएर राती ११ बजे टाटासुमो मार्फत बिरामी काठमाण्डौ लगेको उनले बताईन । आफुले बाहिरको समेत चार वटा एम्बुलेन्सलाई बोलाएपनि कोही नमानेको उनले बताईन ।
बिरामीका आफन्तले पनि एम्बुलेन्स चारैतिर खोजेपनि पाउन नसकेपछि टाटासुमो बाट लैजान बाध्य भएको बताए । उनले आक्रोशमा भने दर्जनौ एम्बुलेन्स छन । सेवा दिन समेत ईन्कार गरेपछि बिरामी तलमाथि भए सबै एम्बुलेन्स तोडफोड गर्छु ।
निजगढमा एक दर्जन भन्दा बढी बिभिन्न संस्था मार्फत एम्बुलेन्स भएपनि नागरिकले सेवा नपाउनु दुःखद भएको स्थानीयले बताएका छन् ।