निजगढ । धन हुनेहरु सबैको मन हुदैन तर मन भएपछि धन नभएपनि बारा निजगढका एक ब्ययसायीले एक सय गरिव तथा जेहेन्दार छात्रछात्रालाई शुक्रबार विद्यालय पोसाक र झोला बितरण गरेका छन् ।
फिटवेल गार्मेन्टका प्रोपाराइटर निजगढ ७ निवासी मनोज भारतीले कोरोना महामारीबाट उद्योग ब्यबसाय घाटामा चलेपनि झण्डै एक लाख ५० हजार बराबरको सहयोग गरेका हुन ।
निजगढ नगरपालिका वडा नम्बर ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयका एक सय गरिव तथा जेहेन्दार छात्रछात्रालाई शुक्रबार विद्यालय पोसाक र झोला बितरण गर्नु भएको हो । भारतीले कोरोना बीमा बापत आफूले प्राप्त गरेको रकम खर्चेर बालबालिकालाई सो सामाग्री बितरण गरेका हुन ।
हाल काठमाण्डौंमा बसेर फिटवेल गार्मेन्ट संचालन गर्दै आएका भारती गत वर्ष असोजमा कोरोना संक्रमित भई बीमा बापत प्राप्त १ लाख र थप ५० हजार हालेर विपन्न बालबालिकाहरुमा थोरै खुशी ल्याउने प्रयत्न गरेको बताए ।
विद्यालयमा आयोजित कार्यक्रममा भारतीले घर परिवार र अभिभावकहरुको सल्लाहमा बीमा रकममा ५० हजार थपेर विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरेँ ।’ बीमाबाट प्राप्त भएको रकम बालबालिकाको लागि खर्च गर्न पाउँदा आफूलाई खुसी लागेको पनि भारतीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने खनालले धन कसको कति भन्दा मनकारी हुन ठुलो कुरा भएको बताउनु भयो । भारती परिवारले पटक पटक यस्ता सामाजिक कार्यमा सहयोग गर्दै आएकोमा धन्यवाद समेत दिनु भयो । ‘व्यवसायी भारतीले उदाहरणीय कार्य गर्नु भएको छ उपप्रमुख लामिछानेले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अस्थानीले पोसाक र झोला वितरणले गरिव र विपन्न परिवारका विद्यार्थीहरुको पठनपाठनमा राहत मिलेको भन्दै सहयोगको लागि भारतीलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य जगतकुमारी अधिकारी, पवन विश्वकर्मा, भारती आमा समाजसेवी सावित्री भारती, नेपाली काग्रेसका नेता भिम बहादुर स्याङतान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताले भारतीको सहयोगको प्रशंसा गरेका थिए ।