निजगढका किसानलाई किसान क्रेडिट कार्डको स्किम

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले कृषकहरुको लागि किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने भएको छ । किसानलाई सहुलियत ऋण दिन किसान क्रेडिट कार्ड स्किम संचालन गर्न लागिएको नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भयो ।

जसका लागि नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निर्णय गरेको नगरप्रमुख खनालले बताउनु भयो ।

किसानहरुलाई बैंक मार्फत कर्जा लिनको लागि हुने समस्याको समाधान हुने अपेक्षाको साथ क्रेडिट कार्ड स्किमको व्यवस्था गर्न लागिएको नगरप्रमुख खनालले बताए । उहाँका अनुसार विशेषगरी कृषकहरुले मल, बिउ, कृषि औजार, कृषि सामाग्री लगायत अन्य आवश्यक कृषि सम्बन्धि वस्तुहरु खरिद गर्नको लागि किसान क्रेडिट कार्ड उपयोगी हुनेछ ।

किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निजगढ नगरपालिका बारा जिल्लाको पहिलो स्थानीय तह भएको छ । यो कार्ड लागू भएपछि कृषकहरुले पैसाको अभावमा खेति गर्ने समयमा चिन्तित बन्नु पर्ने अवस्थाको अन्त्य गर्न कार्ड सहयोगी बन्ने अपेक्षा रहेको छ । यसैबीच नगरपालिकाले लागु गर्न लागेको किसान क्रेडिट कार्ड स्किमको निजगढका कृषकहरुले स्वागत गरेका छन । कृषकहरुलाई बैंकले कर्जा उपलब्ध नगराउँदा खेतीपातीमा आर्थिक अभावका कारण समस्यामा पर्ने कृषकहरुलाई यस स्किम मार्फत राहत पुग्ने निजगढका केरा कृषक हिरा सारु मगरले बताउनुभयो ।

कृषक मगरले किसान क्रेडिट कार्ड मार्फत साना किसानहरु पनि लाभान्वित हुने भएकाले नगरपालिकाले शिघ्र रुपमा यसको कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगरपालिकाले संचालन गर्न लागेको किसान क्रेडिट कार्ड स्किम मार्फत कृषकहरुले बैंक बाट नगरपालिकाको सहजीकरणमा सहज ढंगले कर्जा समेत प्राप्त गर्न सक्छन ।

शेयर
प्रतिक्रिया
Skip to content