निजगढ । नेकपा एमालेको निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशन तामझामकासाथ उद्धघाटन भएपनि सहमति नहुदा नयाँ नेतृत्व चयन अन्यौल बनेको छ ।
एक जना अध्यक्ष पदमा धेरै उम्मेदबारको दावी भएपछि सहमति हुन नसक्दा निर्वाचन नगरी स्थगित भएका कारण फेरी कहिले निर्वाचन हुन्छ भन्ने अन्यौल छ ।
अध्यक्षमा निर्वतमान अध्यक्ष दिलबहादुर लामालाई एउटा समुहले र सुरथ पुरीलाई अर्को समूहले नगर अध्यक्षमा अगाडि बढाएको कारण सहमति बन्न नसकेको बताईएको छ । त्यसो त थानेश्वर सापकोटा, तिलक घलान र जयराम कुवरको पनि नगर अध्यक्षमा दावी आएपछि सहमति हुन सकेको छैन । सहमतिका लागि प्रयास भएपनि दुवै समुहले अध्यक्ष नछाडेपछि सहमति हुन नसकेको हो । सहमतिको लागि गरिएको लामो प्रयास विफल बनेपछि अधिवेशनको बन्द सत्र स्थगित गर्नु परेको अधिवेशनको बन्द सत्रका सदस्य एकबहादुर श्रेष्ठले बताउनुभयो ।
एक एक अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना सहसचिव सहित ७५ जना नगर कमिटी सदस्य चयन गर्नुपर्ने भएपनि सहमति नहुदा अधिबेशन स्थगित गर्नु परेको हो । अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास भएपनि नगरी स्थगित भएको छ । नगर कमिटीका सदस्यहरु सर्वसम्मत चुनिएर पनि अध्यक्ष पदमा सहमति नभएपछि अध्यक्ष मण्डलले सूचना निकालेर अधिवेशनको बन्द सत्र स्थगित गरेको हो ।
अधिवेशन फेरि आयोजना गर्ने मितिको बारेमा कुनै टुङ्गो नभएको श्रेष्ठले बताएका छन् । अधिवेशनको शुक्रबार एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले उदघाटन गर्नु भएको थियो । पाँच सदस्यीय निर्वाचन समितिका अर्का सदस्य अम्बिका चौलागाईले अधिबेशन सर्वसम्मत गर्न केही समय स्थगीत गरेपनि केन्द्रिय महाधिबेशन पछि पुनः सहमतिमै अध्यक्ष सहित पदाधिकारीको नाम टुङगाउने बताउनु भयो । केन्द्रिय महाधिबेशन अघि समय अभाव भएका कारण नयाँ कार्य समिति चयन केन्द्रिय महाधिबेशन पछि गरिने उनले बताए ।