निजगढ । नगरपालिकामा भुमिहिन तथा अव्यवस्थित जग्गाको नापजाँच कार्य शुरु भएको छ । बुधबार भरतगन्ज सिङ्गौलबाट भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाहरुको नापजाँच गर्ने कार्यको शुरुवात गरिएको हो । जग्गा नापजाँच कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख सुरेश कुमार खनालले वर्षौदेखी समस्याको रुपमा स्थापित भएर बसेको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच शुरु भएसङ्गै सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख हुने बताउनु भयो ।
मेयर खनालले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गा धनी पुर्जा नहुनु, भएका जग्गा धनी पुर्जाले पनि वैधानिकता नपाएर जग्गा जोतभोग गरिरहेकाहरुले पुर्जा नभएको समस्या अन्त्य हुने जनाउनुभयो । निजगढ नगरपालिकाले डिजिटल प्रविधी मार्फत अव्यवस्थित जग्गाहरुको नापजाँच गरिरहेको बताउनु हुदै खनालले सहज ढङ्गबाट जग्गा व्यवस्थापन गर्न सकिने बताउनु भयो । भुमी सम्बन्धी समस्या समाधान आयोग गठन हुनुभदा अघि देखि नै आफुले नगर भित्रको अव्यवस्थित जग्गा र सुकुम्बासी समस्या समाधानको लागी पहल गरेको समेत बताउनु भयो । मेयर खनालले सो प्रयास सफलता उन्मुख रहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
बुधबार वडा नम्बर १,२ र ३ भरतगन्ज सिङ्गौलबाट शुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडाहरुमा पनि गर्दै लगिने जनाईएको छ । शुरुवातमा भरतगन्ज सिङ्गौल, लाल, रतनपुर क्षेत्रमा अव्यवस्थित जग्गालाई व्यवस्थापन गर्न कार्य सन्चालन भईरहेको मेयर खनालले बताउनु भयो ।
निजगढ क्षेत्रमा पनि छिट्टै नापजाँच कार्य संचालन हुने उहाँले बताउनु भयो । उद्घाटन कार्यक्रममा मेयर खनाल सहित उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर १ का वडा अध्यक्ष मङ्गल लोप्चन, वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी, वडा नम्बर ३ का वडा अध्यक्ष जितबहादुर लामा, वडा नम्बर ७ का वडा अध्यक्ष रामजिप्रसाद बजगाई, वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान लगायत कार्यपालिका सदस्य,वडा सदस्य,स्थानिय राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।