काठमाडौं । कोरोना भाइरसका कारण मोबाइल डेटाको प्रयोग ऐतिहासिक स्तरमा वृद्धि भएको छ । टेलिकम कम्पनीहरुले आम्दानी गुमाइरहँदा डेटाको प्रयोग भने दोब्बरभन्दा बढीले बढेको हो । हालै मात्र एनसेलको प्यारेन्ट कम्पनी आजीयाटाले दोस्रो त्रैमासिक (अप्रिल, मे र जुन) को वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा मोबाइल डेटाको खपत ११६.७२ प्रतिशतले बढेको हो । गत वर्षको दोस्रो त्रेमासिक अवधिमा प्रयोगकर्ताले प्रति महिना औषत ८९१ एमबी प्रयोग गर्ने कम्पनीका प्रयोगकर्ताले यस वर्षको सोही अवधिमा १९३१ एमबी प्रयोग गरेका छन् । सन् २०२० को पहिलो तीन महिनाको तुलनामा समेत दोस्रो तीन महिनामा डेटा खपत भारी मात्राले वृद्धि भएको छ । एनसेलका अनुसार मार्च सम्म प्रतिव्यक्ति प्रति महिना औषत १३१२ एमबी डेटा खपत हुने गरेकोमा अप्रिल, मे र जुन महिनामा औषत १९३१ एमबी खपत भएको छ । यो ४७.१८ प्रतिशतको वृद्धि हो ।